ऊर्जा राज्यमन्त्री बर्खास्तीमा पर्दा रघुजी पन्त बने शिक्षा मन्त्री

काठमाडौं : विद्या भट्टराइको राजीनामापछि रिक्त भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्त मन्त्री नियुक्त भएका हुन्। उनको शपथ बिहीबार हुने कार्यतालिका रहेको छ।
आन्दोलनरत शिक्षक आन्दोलन समाधान लगायतका विषयमा आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीबाट सहयोग नपाएपछि भट्टराईले स्वास्थ्यको कारण देखाउँदै वैशाख ८ गते राजीनामा दिएकी थिइन्।
प्रधानमन्त्री ओलीले भने उनले स्वास्थ्यको कारण राजीनामा दिए पनि मिडियाले अनावश्यक रूपमा आफूसँग विवाद भएको आरोप लगाएको दाबी गरेका थिए। पन्त बाम पत्रकारिताको पृष्ठभूमीहुँदै राजनीतिमा सक्रिय भएका थिए।
राज्यमन्त्री तामाङ बर्खास्त
उता प्रधानमन्त्री ओलीले बुधवारै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरे। तामाङ सत्ताधारी दल नेपाली कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त भएका थिए। मन्त्री दीपक खड्का र उनकै दलका सभापतिले समेत राजीनामा दिन भने पनि नमानेपछि कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले उनलाई बुधवार बर्खास्त गरेका थिए।
उनले बर्खास्तीको सूचना आफ्नै दलका सांसद तथा गृहमन्त्री रमेश लेखकबाट पाएका थिए। उनी नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विपक्षमा उभिएका थिए।
वैशाख १०, २०८२ बुधबार १९:५८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।