काखमा सन्तान, सडकमा संघर्ष

काठमाडौं : नेपाल शिक्षक महासंघको आह्वानमा विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले तीन सातादेखि निरन्तर काठमाडौं केन्द्रीत आन्दोलनमा छन्।
शैक्षिक गतिविधि ठप्प पारेर चैत २० गतेदेखि आन्दोलनमा उत्रँदा पठनपाठन र भर्ना अभियान त प्रभावित भएको छ नै, कक्षा १२ को परीक्षाको मिति समेत केही दिन धकेलिएको छ।
आन्दोलन लामो हुँदै जाँदा शिक्षकहरू थकित देखिएका छन्। महासंघले अनिवार्य उपस्थित हुनुपर्ने दबाबका बीच अब शिक्षकहरू आफ्ना सन्तान बोकेरै आन्दोलनमा सहभागी हुन बाध्य भएका छन्।
आन्दोलनका क्रममा आइपर्ने सबै समस्याको समान भागिदार ती बालबालिका पनि भइरहेका छन्। गर्मीसँगै बढेको तापक्रमले तातो सडकमा शिक्षकभन्दा बढी ती बालबालिका बढी प्रभावित देखिन्छन्।
सडकमा आफ्नो उमेर अनुसार कोही काँधमा, कोही पिठ्यूँमा, कोही काखमा च्यापिएर अनि कोही औँला समाएर यताउता ओहोरदोहोर गरिरहेका छन्। कोहि भने नारा लगाएर सडकमा पलेटी कसेर बसिरहेका आफ्नो अविभावकको छेवैमा दिक्दार मानेर सुस्ताइरहेका देखिए।
उता स्मार्टफोन चलाउन सक्ने उमेरकाहरू भने आफ्ना अभिभावकहरूको गतिविधि क्यामेरामा कैद गरिरहेका भेटिन्छन्। शिक्षक-शिक्षिका पनि फुर्सदमा देखिँदैनन्, आ-आफ्नो समूहमा बस्नैपर्यो। नेतृत्व गर्नेले नारा भट्याउँछन् लय मिलाउनै पर्यो।
त्यसका अलावा गर्मीले पिरोलिएका आफ्ना बालबच्चालाई पानी पिलाउने, भोकाएकालाई खाजा खुवाउले अनि घरिघरि बोटबिरुवाको छहारीमुनि शितल तापिरहेका भेटिन्छन् सन्तान बोकेर आएका शिक्षक-शिक्षिका।
यसरी साना बालबालिका आन्दोलित अभिभावकसँगै हेलिनुपर्दा तिनीहरूको कलिलो मानसपटलमा पर्ने प्रभाव, शारीरिक हिसाबले बेहोर्नुपर्ने अप्ठेरोकोबारे न आन्दोलनको अगुवाइ गर्ने शिक्षक महासंघ गम्भीर देखियो, न आन्दोलन रोक्न पहल गर्नुपर्ने सरकारी नेतृत्व नै!
वैशाख १०, २०८२ बुधबार १४:४६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।