प्रमुख सचेतकलाई सभामुखको आग्रह- बजेट अधिवेशनमै विद्यालय शिक्षा विधेयक पारित गर्न तयार रहनुस्

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक संसदको बजेट अधिवेशनमै पारित गर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा भएको प्रमुख सचेतहरूसँगको छलफलमा सभामुख घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन आए लगत्तै पारित गर्न प्रक्रिया शुरू गरिने बताए।
नीति तथा कार्यक्रम, बजेट, विद्यालय शिक्षा विधेयक र निजामति विधेयक लगायतका विषयालाई ध्यान दिँदै यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहन समेत उनले दलका प्रमुख सचेतहकहरूसँग आग्रह गरे।
‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ। उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ,’ उनले भने, ‘जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौँ। समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया शुरू गर्छ।’
यसका अलावामा सभामुखले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई सबैले अनुमोदन गरेको बताइएको छ।
छलफलमा सभामुख घिमिरेले थपे, ‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ।’
विद्यालय शिक्षा ऐन नलिई घर नफर्कने भनेर शिक्षकहरू २२ दिनदेखि सडकमा उत्रिरहँदा सभामुखको यस्तो अभिव्यक्ति आएको हो। यसअघि सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेटको छलफल गरेरै नभ्याइने भन्दै हिउँदे अधिवेशनमा मात्र ऐन ल्याउन सकिने बताएका थिए।
तर, त्यसपछि शिक्षकहरूले प्रधानमन्त्री र सभामुखलाई समेत भेटेर ऐन आउने अवस्था बनाइदिन आग्रह गरेका थिए।
वैशाख १०, २०८२ बुधबार १३:५६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।