गणतन्त्रको पक्षमा अभिनेत्री सुरक्षाको बोल्ड प्रतिक्रियाले राजावादी तिरमिर

गणतन्त्रको पक्षमा अभिनेत्री सुरक्षाको बोल्ड प्रतिक्रियाले राजावादी तिरमिर

काठमाडौं : प्राय कार्यक्रमका आफ्ना अतिथिलाई सञ्चारकर्मी प्रकाश सुवेदी राजा र राष्ट्रपति वा राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्न सोधिरहन्छन्।

कसरी चिन्नुहुन्छ भन्दै राज परिवारका सदस्यका तस्विर पनि देखाउँछन् बेलाबखत। पुरानादेखि नयाँ पुस्तासम्म जति कलाकार उनको कार्यक्रममा अतिथि बने तिनका अभिव्यक्ति राजतन्त्रको पक्षमा देखिँदै आएको थियो।

व्याख्या गर्न नपाइने सेग्मेन्ट भएर होला उनीहरू ‘कुन किताब मनपर्छ?’ भन्दा फ्याट्ट मूनामदन भन्ने शैलीमा राजतन्त्र वा राजा छान्ने गरेका थिए। कसले लेखेको भनेर सोध्दा टाउको कन्यायो ‘बिर्सिएँ’ भन्यो। त्यस्तै शैलीमा राजतन्त्र भन्यो किन त भन्दा त्यो बेला राम्रो थियो रे!

तर, यो पटक बोल्ड तरिकाले त्यो क्रम भङ्ग गरिन् अभिनेत्री सुरक्षा पन्तले। फोटो देखाएर पात्र चिन्ने क्रममा स्क्रिनमा हृदयन्द्र शाहको फोटो आउँछ। उनले ‘पारसको छोरा’ भनेर चिन्छिन्। तर, नाममा कन्फ्युज हुन्छिन्। कार्यक्रम सञ्चालक सुवेदीले नाम बताउँछन्।

‘उहाँको ठूलो फ्यान फलोइङ छ नि दाइ’ भन्दै अगाडि बढ्छिन्। अहिलेका यङ लेडीहरूमा राम्रो क्रेज रहेको बताउँछिन्। राजावादीहरू राजतन्त्र फर्काएर हृदयन्द्रलाई राजा बनाउने अभियानमा छन्। ज्ञानेन्द्रको उमेर ढल्कियो। पारस पूरै बदनाम। त्यसमा हृदयन्द्रमा उनीहरूको आश देखिन्छ।

सुवेदीले सोध्छन्, ‘भविष्यमा उहाँलाई कुन रूपमा हेर्न चाहनुहुन्छ?’

पन्तले भनिन्- ‘राम्रो हुनुहुन्छ। सिनेमा क्षेत्रमा आउनुस्। स्वागत छ।’

सुवेदीले केही नेताले राजा बनाउन चाहेको प्रसङ्ग मिसाए।

उनले बोल्ड जवाफ दिइन्, ‘राजा बनाउने व्यवस्था त हामीले स्वीकारकै छैनौँ। कहाँ राजा त भन्न सकिन्न।’

उनी अहिले फिल्म ‘खेल’ प्रमोशनमा व्यस्त छिन्। त्यसैको प्रमोशनका लागि सुवेदीको कार्यक्रममा पुगेकी उनले सत्य बोल्दा राजावादीहरू तिल्मिलाएर फिल्मै बहिष्कारको धम्की दिइरहेका छन्।

वैशाख १०, २०८२ बुधबार १३:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।