जम्मु-कश्मीर आक्रमणपछि पाकिस्तानको प्रतिक्रिया- आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध छैन

एजेन्सी : भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आक्रमणपछि पाकिस्तान सरकारले प्रतिक्रिया दिएको छ।
पाकिस्तानले एक विज्ञप्ति जारी गर्दै भारतले गैरकानूनी रूपमा कब्जा गरेको जम्मू कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकोमा दु:ख व्यक्त गरेको छ।उसले मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यसबाहेक, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणको बारेमा एक पाकिस्तानी समाचार च्यानलसँग कुरा गरेका छन्। जसमा उनले यस आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नभएको बताएका छन्। उनले यसलाई भारतको आन्तरिक मामिला भनेका छन्।
सन् २०१९ को पुलवामा आक्रमणपछि भारतको जम्मू-कश्मीरमा भएको यो सबैभन्दा ठूलो बन्दुकधारी आक्रमण हो। आक्रमणमा २६ जनाभन्दा बढीको मृत्यु भएको थियो।
घटना मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो। मिडिया रिपोर्टका अनुसार बन्दुकधारीहरूले एक पर्यटकलाई उनको नाम सोधेपछि टाउकोमा गोली हानेका थिए।
यसपछि उनीहरूले अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेको समाचारमा उल्लेख छ। यस क्रममा करिब ५० राउन्ड गोली चलाइएको थियो। आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ।
लश्कर-ए-तैयबालाई पाकिस्तानको केही संस्थाहरू विशेषगरी आईएसआई (इन्टर सर्भिस इन्टेलिजेन्स) सँग पनि सम्बन्धित रहेको आरोप छ। यद्यपि पाकिस्तान सरकारले यसलाई अस्वीकार गर्दै आएको छ।
यसका धेरै गतिविधिहरू जम्मु-कश्मीर तथा भारतका विभिन्न भागहरूमा लक्षित हुने गरेको यसअघिका तथ्यहरूले देखाएका छन्। यस समूहको मुख्य उद्देश्य भारतको जम्मु-कश्मीरलाई भारतबाट अलग गरेर पाकिस्तानमा गाभ्ने हो।
यसअघि यो समूहले सन् २००८ मा मुम्बईम आक्रमण गरेको थियो। जहाँ १० जना आक्रमणकारीहरूले मुम्बईमा विभिन्न स्थानमा आक्रमण गरेर करिब १७० जनाको ज्यान लिएका थिए।
घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि, सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। अहिले त्यस क्षेत्रमा हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।
आक्रमण चार जना बन्दुकधारीले गरेको बताइएको छ। जसमध्ये तीन जना पाकिस्तानी नागरिक र एक जना स्थानीय कश्मीरी भएको भारतीय मिडियाले खबर लेखेका छन्।
वैशाख १०, २०८२ बुधबार १२:४५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।