कश्मीरमा भएको बन्दुकधारी आक्रमणमा अर्का एक नेपाली नागरिक घाइते

कश्मीरमा भएको बन्दुकधारी आक्रमणमा अर्का एक नेपाली नागरिक घाइते

काठमाडौं : भारतको जम्मु-कश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणमा अर्का एक नेपाली नागरिक घाइते भएका छन्।

आक्रमणमा नेपालको बुटवलका सुदीप न्यौपानेको मृत्यु भएकोमा अर्का एक जना घाइते भएको तथ्य सार्वजनिक भएको छ।

घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। स्थानीय प्रशासनले जारी गरेको घाइतेहरूको सूचीमा नेपालकी पाण्डेको नाम उल्लेख छ।

बन्दुकधारीहरूको आक्रमणमा घाइते भएकी उनको अवस्था स्थिर भएको बताइएको छ। उनी नेपालको कुन ठाउँकी हुन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।

सन् २०१९ को पुलवामा आक्रमणपछि भारतको जम्मू-कश्मीरमा भएको यो सबैभन्दा ठूलो बन्दुकधारी आक्रमण भनिएको छ। आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी घाइते भएका छन्।

घटना मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो। सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटक ५० राउन्ड गोली चलाएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ। घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। अहिले त्यस क्षेत्रमा हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।

सम्बन्धित समाचार :

वैशाख १०, २०८२ बुधबार ११:२६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।