बहिनी-ज्वाइँ र आमासँग कश्मीर घुम्न गएका थिए सुदीप, बन्दुकधारीको आक्रमणमा मारिए

बहिनी-ज्वाइँ र आमासँग कश्मीर घुम्न गएका थिए सुदीप, बन्दुकधारीको आक्रमणमा मारिए
मृतक सुदीप न्यौपाने र पहलगाम आक्रमणमा मारिनेहरूको सूची।

बुटवल : भारतको जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणबाट मृत्यु हुने सुदिप न्यौपाने बुटवलको भएको पुष्टि भएको छ।

मंगलबार जम्मु-कश्मीरको पहलगाममा बन्दुकधारीहरूको आक्रमणमा उनको मृत्यु भएको थियो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवल-१४ का २७ वर्षीय सुदिप न्यौपानेको जम्मु-कश्मीरमा मृत्यु भएको पुष्टि गरे।

वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेले पनि घटनाको पुष्टि गर्दै मृतक आफ्नै भतिज भएको बताए।

आमासँगै बुटवल-११ कालिकानगर, मनकामना पथमा बस्दै आएका सुदिपले धरानमा पब्लिक हेल्थ अध्ययन गर्दै आएका थिए।

शनिबार मात्र उनी आमा रिमासहित बहिनी सुस्मा र ज्वाइँ उज्वल काफ्लेसहित घुम्नका लागि भारत गएका थिए। वडाध्यक्ष न्यौपानेका अनुसार सुदीप बाहेकका तीनै जना सकुशल छन्।

सुदीपको शव आज साँझसम्म काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।

सन् २०१९ को पुलवामा आक्रमणपछि भारतको जम्मू-कश्मीरमा भएको यो सबैभन्दा ठूलो बन्दुकधारी आक्रमण हो। आक्रमणमा २६ जनाभन्दा बढीको मृत्यु भएको थियो।

घटना मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो। मिडिया रिपोर्टका अनुसार बन्दुकधारीहरूले एक पर्यटकलाई उनको नाम सोधेपछि टाउकोमा गोली हानेका थिए।

यसपछि उनीहरूले अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेको समाचारमा उल्लेख छ। यस क्रममा करिब ५० राउन्ड गोली चलाइएको थियो। आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ।

घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। घटनापछि, सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ। अहिले त्यस क्षेत्रमा हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।

आक्रमण चार जना बन्दुकधारीले गरेको बताइएको छ। जसमध्ये तीन जना पाकिस्तानी नागरिक र एक जना स्थानीय कश्मीरी भएको भारतीय मिडियाले खबर लेखेका छन्।

वैशाख १०, २०८२ बुधबार १०:५६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।