पश्चिम नेपालका सार्वजनिक यातायातमा देखिएको रुपान्तरण : सिण्डिकेटको पीडादेखि ‘बस होस्टेज’को सुविधासम्म

पश्चिम नेपालका सार्वजनिक यातायातमा देखिएको रुपान्तरण : सिण्डिकेटको पीडादेखि ‘बस होस्टेज’को सुविधासम्म

बुटवल : ८/९ वर्ष अघिसम्म पनि सार्वजनिक यातायातमा समिति यातायात व्यवसायीहरूको सिण्डिकेट थियो। नयाँ व्यवसायी यातायात क्षेत्रमा प्रवेश गर्न कठिन थियो। सडकमा निष्प्रवाह थोत्रा र पुराना सवारी कालो धुवाँको मुस्लो फाल्दै गुड्थे अनि त्यही सवारी साधनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए यात्रुहरू पनि।

तर, पछिल्ला वर्षहरूमा लामो दूरीका सवारी साधनमा त्यो परिस्थिति बिरलै देखिन्छन्। सार्वजनिक यातायात सुधारिँदै गएका छन्। यात्रुलाई सकेसम्म गुणस्तरीय, आरामदायी सुविधा दिन व्यवसायीहरूबीच प्रतिष्पर्धा चलेको देखिन्छ। जसले यात्रुले आरामदायी मात्र नभएर सुरक्षित यात्रा समेत गर्न पाएका छन्।

अहिले बुटवल, भैरहवा र लुम्बिनीबाट काठमाडौं, पोखरा जस्ता ठूला शहरका लागि स्तरीय बस सञ्चालन हुन्छन्। निर्माणाधीन बुटवल-नारायणगढ सडकको दूरावस्थाका कारण सोचेजति नाफा निकाल्न नसकेका व्यवसायीहरू यो समय पनि बितेर जानेमा विश्वस्त छन्।

‘करोड खर्चेर व्यवसायीले आँखा चिम्म गरेर बस गुडाएको छ। सडकका कारण खर्च समेत उठ्न मुस्किल छ। तर, व्यवसायीले आफ्नो धर्म छाडेको छैन। यो समय पनि सधैँ रहने छैन भन्ने आशमा छौँ हामी’, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल भन्छन्।

अहिले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध व्यवसायीहरूले ५० भन्दा बढी स्तरीय रात्री बस भैरहवा-बुटवल-काठमाडौं सञ्चालन गरिरहेका छन्। हंङसफर, सेभेन स्टार, सलिना क्यून, उमेसी, टाइम टाभल्स, माइल स्टार, मिरा व्लुलेट, स्टार एसी बस लगाएतका सोफा सेट बसहरू अहिले यो रुटमा चल्दै आएका छन्।

एसी बसमा व्यवसायीले यात्रुका लागि पानी र कम्बलको पनि व्यवस्था  गरेका छन्। प्रालिमा तीन सयभन्दा बढी सुपर ‘डिलक्स’ बस र चार सयको हाराहारीमा डिलक्स बस आबद्ध छन्।

हालै मात्र प्रालिले यात्रुलाई थप गुणस्तरीय सुविधा दिन लुम्बिनीमै पहिलो पटक १२ वटा सुविधासम्पन्न ‘आइसर मजिस्टेक वाइ’ बस भित्र्याएका छन्। यस्ता बसले यात्रुलाई थप सुविधा प्रदान गर्ने व्यवसायी नारायण घिमिरेको भनाइ छ।

काठमाडौंका लागि छुट्न लागेको सोफा सिटर एसी बसमा यात्रु।

‘आइसर मजिस्टेक वाई नामक प्रिमियम बस समय सुहाउँदो, यात्रुको चाहना अनुरुप र सुविधा सम्पन्न छ,’ उनी भन्छन्, ‘यसले यात्रुलाई आरामदायी र अझ बढी सुविधा दिनेछ।’

‘बस होस्टेज’ को नौली अभ्यास, कतै सोफा सेट
सार्वजनिक यातायात सुधारिँदैछ यसै भनिएको हैन, विमानमा ‘एयर होस्टेज’ भएजस्तै दाङको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङ-काठमाडौं चलाउने बसमा ‘बस होस्टेज’ रोखको छ।

४० सिट क्षमताको ‘रोयल एडभान्चर’ सुपर डिलक्समा ‘बस होस्टेज’ले मुस्कान सहितको सेवा दिँदा यात्रुहरू दङ्ग पर्छन्। प्रालिका अध्यक्ष सुरेश हमालले नारायणी पश्चिममा ‘बस होस्टेज’ राख्ने आफूहरू मात्र रहेको दावी गर्छन्।

उनी भन्छन्, ‘हामी नाफा मात्र हेर्दैनौँ। यात्रुलाई बढी भन्दा बढी सुविधा दिनुपर्छ भनेर लागेका छौँ।’

‘बस होस्टेज’ सहितको बसमा यात्रा गर्दा पनि अन्य बसमा जति नै भाडा लाग्ने उनको भनाइ छ। यो सुविधाका कारण यात्रा गर्नु ३/४ दिनअघि नै बुकिङ गर्नुपर्ने अवस्था आएको अध्यक्ष हमालको दाबी छ। बसले तुलसीपुर-काठमाडौंको भाडादर एक हजार सात सय रुपैयाँ तोकेको छ।

बुटवल र भैरहवाबाट मात्र नभएर पाल्पा र गुल्मी सहितका जिल्लाबाट पनि व्यवसायीहरूले सोफा सिटर एसी बस सञ्चालनमा ल्याएका छन्। गाडीमै सुत्न मिल्ने सिट सहितका एक करोड बढी मूल्यका बस वातावरण अनुकुलित मात्र नभएर निःशुल्क इन्टरनेट र पानीको समेत व्यवस्था गरिएको व्यवसायीहरू बताउँछन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवन कुमार बञ्जाडे व्यवसायीहरूले सुविधायुक्त बस बढाउँदै लगेकाले आगामी दिनमा यात्रुहरूले झनै उत्कृष्ठ सुविधा पाउने दाबी गर्छन्। अहिले भएका बसहरूमा पनि प्रत्येक सिटमा मोबाइल चार्जिङको सुविधा छ भने इन्टेरनेट र पत्रिका पढ्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।

उनी भन्छन्, ‘रात्रिकालीन चल्ने ८० प्रतिशत बढी बसहरू सुविधासम्पन्न छन्। जसले यात्रुको आकर्षण पनि बढाएको छ। बुटवल-नारायणगढ सडक विस्तार पूर्ण रूपमा सम्पन्न भएपछि सवारी साधनमा अझै लगानी बढ्ने निश्चित छ।’

उनले अहिले यात्रुको गुनासो सवारी साधनको सेवामा नभई सडकमा हुने गरेको उनको भनाइ छ। आगामी दिनहरूमा अहिले भएका भन्दा पनि सुविधायुक्त बसहरू भित्र्याउने तयारीमा व्यवसायीहरू छन्।

‘अहिले आएका पनि बसहरू सिंगल सस्पेन्सर, पानी, कुलिङ र हिटिङ स्टम राम्रो छ। अब आउने बसहरू डबलर सस्पेन्सरका हुनेछन्। जीपीएस र सीसीक्यामेरा जडित त हुने भइनै हाले। त्यसबाहेक पनि अन्य प्रविधि पनि आधुनिक हुनेछन्’, उनी अगाडि थप्छन्।

वैशाख १०, २०८२ बुधबार १०:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।