हुन्छ भनेर पाँच लाख विद्यार्थीलाई ढाँट्दै अन्तिममा सर्यो कक्षा १२ को परीक्षा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले फागुनमा परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा वैशाख ११ बाट २४ गतेसम्म हुने र समय बिहान ८ देखि ११ हुने तोकेको थियो। मंगलबारसम्म बोर्ड यसैको तयारीमा थियो।
तर केन्द्राध्यक्ष र सह-केन्द्राध्यक्ष हुनुपर्ने शिक्षक आन्दोलनमा छन्। उनीहरूले कक्षा १२ को परीक्षा सार्न गरेको अनुरोधमा अटेर गर्दै निजी विद्यालय, आन्दोलनमा नआएका र निजी स्रोतका शिक्षक र त्यसले नपुगे सरकारी कर्मचारी खटाएर परीक्षा लिने रणनीतिमा पुग्यो सरकार।
सोमवार शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिइन्। मंगलवार बसेको बोर्ड बैठकले यही निर्णय गर्यो। यसमा निर्णायक देखिए शिक्षा सचिव दीपक काफ्ले।
उनले बैठकमा मिति सार्न नहुने बरु प्रमुख जिल्ला अधिकारीबाट सरकारी कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्नुपर्ने अडान राखे।
बैठकमा उनले प्रधानमन्त्रीको इच्छा समेत परीक्षा सार्न नहुने रहेको बताएको बैठकमा सहभागी स्रोतले बतायो। सचिव नै अडिएपछि बोर्डले त्यही निर्णय गर्यो।
तर शिक्षक विरुद्ध परिचालन गर्न आँटेको भन्दै सरकारी कर्मचारीका केही संगठन विपक्षमा उभिए। अनि मंगलवारै शिक्षा सचिव काफ्ले र बोर्ड अध्यक्ष महाश्रम शर्मा प्रधानमन्त्री केपी शर्मा ओली भेट्न सरकारी निवास बालुवाटार गए।
बैठक सकिएपछि शर्माले परीक्षाको मिति ११ बाट २१ पुगेको बताए। बोर्डले बेलुका सूचना निकाल्यो।
पाँच लाखको भविष्य जोडिएको परीक्षा
बोर्डका अनुसार यस पटक कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन्। परीक्षा हुने कि नहुने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई अन्तिमसम्मै अन्योलमै राख्यो सरकारले।
सुगमका विद्यार्थीले धेरै दुख पाएनन्। तर टाढा परीक्षा केन्द्र परेका दुर्गमका विद्यार्थी परीक्षा दिन परीक्षा केन्द्र नजिकै डेरामा बसिसकेका थिए। उनीहरूको खर्च बढ्यो नै। शिक्षक आन्दोलन नटुङ्गिए परीक्षा हुने/नहुने टुंगो नहुने उनीहरू पनि अलमलमा परे।
परीक्षामा शिक्षक किन चाहियो?
परीक्षाका लागि जापान एक परीक्षा केन्द्रसहित एक हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो। परीक्षाका लागि एक हजार ५ सय ९१ नै सङ्ख्यामा केन्द्राध्यक्ष र त्यति नै सहायक केन्द्राध्यक्ष चाहिन्छ।
विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने बोर्डले तयारी गरेको थियो।
वैशाख १०, २०८२ बुधबार ०२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।