पछि हट्यो सरकार, कक्षा १२ को परीक्षा वैशाख ११ बाट २१ मा गर्ने तयारी

पछि हट्यो सरकार, कक्षा १२ को परीक्षा वैशाख ११ बाट २१ मा गर्ने तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ११ बाट सारेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ।
शिक्षक आन्दोलन भए पनि मंगलवार नै बोर्ड बैठक बसेर नियमित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। तर एकाएक बेलुका परीक्षाको मिति सरेको दाबी आए।

बोर्डले सूचना निकालेको छैन। तर बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षाको मिति सार्ने तयारी भएको र अब २१ गते हुने बताए।

सरकारी कर्मचारी खटाएर भए पनि तोकिएकै मितिमा परीक्षा गर्ने अडानमा थिए प्रधानमन्त्री केपी शर्मा ओली। तर बोर्डका अधिकारीसँग मंगलबार साँझ ओलीले छलफल गरेपछि उनी परीक्षा सार्न राजी भएका हुन्।

सरकारले परीक्षामा कर्मचारी खटाउने तयारी गरेपछि विभिन्न कर्मचारी सङ्गठनहरूले शिक्षकविरुद्ध कर्मचारी परिचालन नगर्न सरकारलाई चेतावनी दिएका थिए। त्यसपछि सरकार हच्किएको देखियो।

विभिन्न मागसहित आन्दोलनमा रहेका शिक्षकहरूले परीक्षामा सहभागी नहुने निर्णय गरेका थिए। तर सरकार पेलेर जाने तयारीमा देखियो। तर कर्मचारीबाट साथ पाउने सम्भावना नदेखेपछि पछाडि हट्यो।

शिक्षक आन्दोलन लगायतका विषयमा प्रधानमन्त्री ओलीसँगको मतभेदका कारण शिक्षामन्त्री विद्या भट्टराईले सोमवार राजीनामा नै दिइसकिन्। प्रधानमन्त्री ओलीले मंगलवार स्वास्थ्य समस्याका कारण राजीनामा दिए पनि आफूलाई मिडिया मिलेर दोष लगाएको दाबी गरेका थिए।

परीक्षा रद्द हुँदा सुगमका विद्यार्थीलाई त्यति ठूलो असर नपरे पनि शहरी क्षेत्रमा आएर परीक्षा दिनुपर्ने दुर्गमका विद्यार्थी भने मारमा परे। उनीहरू परीक्षा दिन एक साता अगाडिबाट सदरमुकाम लगायतका परीक्षा केन्द्र नजिकै डेरा लिएर बसिसकेका थिए। परीक्षा सर्दा उनीहरूको बसाइँसँगै खर्च समेत बढ्ने भएको छ।

उता सरकार तत्काल आन्दोलित शिक्षकहरूसँग वार्तामा बस्ने रणनीतिमा देखिएको छैन। आन्दोलनरत शिक्षकहरू पनि माग पूरा नगराइ आन्दोलन छाड्ने पक्षमा छैनन्।

आन्दोलनको नेतृत्वमा विभिन्न दल निकट शिक्षकहरूको संघको प्रतिनिधित्व गरेको महासङ्घले गरिरहेको छ। शिक्षक संगठनमा सत्ताधारी दल एमाले र माओवादीको पकड भए पनि आन्दोलन टुङ्ग्याउन दलको जोडबलले काम गरेको छैन। 

वैशाख १०, २०८२ बुधबार ०१:१९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।