आन्दोलनरत शिक्षकको चेतावनी : ‘अब प्रधानमन्त्रीको राजीनामा आउने वातावरण बनाउँछौं’

आन्दोलनरत शिक्षकको चेतावनी : ‘अब प्रधानमन्त्रीको राजीनामा आउने वातावरण बनाउँछौं’

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आकस्मिक राजीनामापछि आन्दोलनरत शिक्षकहरूले अब  प्रधानमन्त्रीको राजीनामा आउने गरि आन्दोलन अगाडि बढ्ने चेतावनी दिए।

मन्त्री भट्टराईको राजीनामापछि उनीहरू मंगलवार केही निरास र प्रधानमन्त्रीसँग थप आक्रोशित देखिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीलाई आफूले "सहयोग गरिराखेको र सिकाइराखेको" भएपनि स्वास्थ्यका कारण राजीनामा दिएको प्रष्टीकरण दिएका थिए। तर शिक्षकहरूले प्रधानमन्त्रीको बोलीलाई पत्याएको देखिएन।

शिक्षामन्त्रीको राजीनामा र अबको आन्दोलनको बाटोबारे आन्दोलनरत शिक्षकहरूको धारणा बुझ्न उकेराकर्मी मंगलबार शिक्षक आन्दोलन स्थलमा पुगेका थिए। शिक्षकहरू अब  प्रधानमन्त्रीकै राजीनामा  आउने गरि आन्दोलन अगाडि बढाउने रणनीतिमा देखिए।

सरकार शिक्षकहरूलाई थकाउने रणनीतिमा देखियो। मंगलवार माध्यमिक तहको परिक्षा परिआए सरकारी कर्मचारी खटाएर सन्चालन गर्ने चरणमा पुग्यो।

उनीहरू परिआए दशैँ सडकमै मनाउने तर सरकारलाई गलाइ छाड्ने रणनीतिमा देखिए। यसमा प्रधानमन्त्रीको बोलीले थप आक्रोश बढाउने काम गरेको देखियो।

सडकमै दशैँ मनाउन तयार

उनीहरू २१ दिनदेखि सडकमा छन्। माग पुरा नभएसम्म विद्यालय फर्कने मुडमा देखिएनन्।

शिक्षक तथा नेपाल राहत शिक्षक केन्द्र समितिका अध्यक्ष नविन सिंह धामीले प्रधानमन्त्रीको व्यवहारलाई अपमानजनक र गैर जिम्मेवार भने।

‘शिक्षाको पक्षमा काम गर्ने व्यक्ति सरकारमा टिक्दैन भन्ने प्रमाणित भयो। प्रधानमन्त्रीले शिक्षकप्रति अपमानजनक र गैर जिम्मेवार अभिव्यक्ति दिइरहनु भएको छ,’ उनले चेतावनी दिँदै थपे, ‘अब सामान्य आन्दोलनले पुग्दैन। प्रधानमन्त्री स्वयं आन्दोलनलाई अर्को मोडमा लैजान खोजिरहनु भएको छ।’

बीपी स्मृति आधारभूत विद्यालयकी प्रधानाध्यापक लेखमाया पौडेलले सरकार शिक्षकहरूका मागप्रति सकारात्मक हुनुको विकल्प नरहेको बताइन्।

प्रधानमन्त्रीको व्यवहारप्रति आक्रोश पोख्दै पौडेलले चेतावनी दिइन्, ‘प्रधानमन्त्री हाम्रो मागप्रति सकारात्मक देखिनु भएको छैन। अब उहाँको राजीनामाको खबर पनि हामीले सडकबाटै थाहा पाउने छौं।’

अब शिक्षक मात्र नभई विद्यालय कर्मचारी र इसीडी शिक्षकहरूलाई समेत आन्दोलनमा ल्याउने तयारीमा रहेको बताइन्। सरकारकै आलटालले आन्दोलन निर्णायक चरणमा पुगेको उनको दाबी छ। 

माध्यमिक विद्यालय, धनुषाका प्रधानाध्यापक देव नारायण शाह शिक्षामन्त्रीको राजीनामालाई सरकारको असफलतासँग जोड्छन्।

उनी भन्छन्, ‘२०६२/०६३ को आन्दोलनमा १९ दिनको मधेस आन्दोलन हुँदा सरकार परिवर्तन भएको थियो, हाम्रो त २० दिन भइसक्यो।’

भक्तपुरकी शिक्षिका बैनी खम्बुले प्रधानमन्त्रीको भूमिकाको कडा आलोचना गर्दै भनिन्, ‘अब हाम्रो आन्दोलन त अनिश्चितकालीन जाने निश्चित छ। शिक्षा ऐन नआएसम्म हामीले सडक छाड्ने छैनौं।’

बाल ज्योति आधारभूत विद्यालय, स्याङ्जाकी प्रधानाध्यापक हरिकला सुवेदीले आन्दोलन नछोड्ने अडान राख्दै भनिन्, ‘अब कि जितिन्छ, कि बितिन्छ। सडकमै हामीले चैते दशैं मनायौं, नयाँ वर्ष पनि मनायौँ। त्यस्तै पर्यो भने तीजदेखि दशैँसम्म मनाउन तयार छौं।’

भानुभक्त माध्यमिक विद्यालय प्युठानका प्रधानाध्यापक चक्रपानी पौडेलले प्रधानमन्त्री ओलीले शिक्षकहरूको सेन्टिमेन्टसँग खेलेको गुनासो गरे। 

वैशाख ९, २०८२ मंगलबार २०:३७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।