भ्रष्टाचार गरेको पैसा फिर्ता दिँदा माफी ?

भ्रष्टाचार गरेको पैसा फिर्ता दिँदा माफी ?

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा तीन सय रुपैयाँ पर्ने रजिष्टर प्रतिगोटा १७ हजार रुपैयाँमा खरिद गरिएको उजुरीपछि शुरू भएको भ्रष्टाचार अनुसन्धान एकाएक रोकिएको छ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको कार्यालयले स्पष्ट रायसहित टंगालस्थित मुख्यालयमा मुद्दा दर्ताको सिफारिस पठाएको थियो। तर, मुद्दा दर्ता हुने समयमा आरोपितले रकम फिर्ता गरेपछि प्रक्रिया स्थगित गरिएको छ।

आर्थिक वर्ष २०७९–०८० मा भएको उक्त खरिदमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतो संलग्न थिए। उनलाई भ्रष्टाचार अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको थियो। तर, वैशाखको पहिलो साता महतोले रजिष्टर खरिद बापतको सावाँ र ब्याजसहित ३ लाख १० हजार रुपैयाँ बलरा नगरपालिकाको राजस्व खातामा फिर्ता गरेपछि मुद्दा नयाँ मोडमा गयो।

यसपछि अख्तियार बर्दिबास कार्यालयले मिसिलसहित मुद्दा स्थगनको सिफारिस टंगाल पठायो। यसबीच, मुद्दा मिलाउन रकमको लेनदेनसमेत भएको भन्दै गम्भीर आशंका उठेका छन्। 

यस विषयमा बर्दिबास कार्यालयका सूचना अधिकारी तुलसीराम पौडेल भन्छन्, ‘अख्तियारको सबै निर्णय केन्द्रबाटै हुन्छ। हामीले राय सुझावसहित मिसिल टंगालमा पठाउने हो। उतैबाट बुझ्नुस्। हामीलाई थाहा भएन।’

यही मुद्दामा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको भूमिका पनि शंकाको दायरामा आएको छ। महतो र कडरिया एउटै नगरका बासिन्दा भएको र व्यक्तिगत चिनजानको आधारमा बचाउन प्रयास भएको आरोप लागेको छ। तर, कडरिया भने आरोप अस्वीकार गर्छन्। उनी भन्छन्, ‘अख्तियारले हामीलाई पनि बोलाउँछ। हामी आफ्नै कामले गएका हुन्छौं।’

‘के तपाईँले रजिष्टर खरिद बापतको रकम नेपाल सरकारलाई फिर्ता गर्नुभएको हो?’ महतोलाई सोधिएको प्रश्नमा उनले शुरूमा अनभिज्ञता जनाए, पछि भने, ‘यस विषयमा भेटेरै कुरा गर्न मिल्दैन ? भेटेरै कुरा गरौं।’

बलरा नगरपालिकाका वर्तमान प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साहले रकम राजस्व खातामा जम्मा भएको पुष्टि गर्न नसकेपछि थप शंका उत्पन्न भएको छ। फोनमा “म राजस्व शाखामा कार्यरत कर्मचारीसँग सोधेर फोन गरेर जानकारी गराउँछु,” भनेका साह त्यसपछि सम्पर्कविहीन भएका छन्।  

यो घटनाले अख्तियारको भूमिका र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। वयोवृद्ध वामपन्थी नेता रामजी यादव भन्छन्, ‘अख्तियारले जित हुनेमा शंका भएका मुद्दाहरू पैसा तिराएर मुलतबीमा पठाउने निर्णय गर्दा भ्रष्टाचारले झन् प्रश्रय पाएको छ।’

उनले थपे, ‘स्थानीय तहमा बेथितिले सीमा पार गरेको छ। अख्तियारमा पनि बेथिति देखियो। यो मुद्दा सेटिङमै मुलतबी पारिएको हुनुपर्छ।’

राहुल राय/नेपाल न्यूज बैंक

वैशाख ९, २०८२ मंगलबार १८:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।