केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन : अध्यक्ष ओली

काठमाडौं : प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो र अस्वस्थ नरहेको स्पष्ट पारे।
‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०-२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नुपर्दैन। केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ, भने त्यो पूरा हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, “कसैले एमाले बिनाको देशको पनि कल्पना गरेका छन् । केपी ओली बिनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमाले बिनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’
उनले एमाले अस्तित्वको निम्तिको लडाइँमा नभइ विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण भएर आउने उद्घोष गरे।
प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिले कम्युनिष्ट आन्दोलन ध्वस्ता बनाउन षड्यन्त्रकारीबाट परिचालित भएर दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराए पनि आफूहरूले आन्दोलनलाई पुनःगठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको बताए।
प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्डमा भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको अवगत गराउँदै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको र सबैसँग मित्रता रहेको स्पष्ट पारे।
वैशाख ९, २०८२ मंगलबार १७:५६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।