रुपन्देहीको दानव नदीमा बेपत्ता भएका तीन बालकको शव फेला

रुपन्देही : पौडी खेल्ने क्रममा रुपन्देहीको दानव नदीमा डुबेर बेपत्ता भएका तीन बालकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित दानव नदीमा सोमबार दिउँसो करिब १ बजेतिर पौडी खेल्न गएका तीन बालक बेपत्ता भएका थिए।
प्रहरी प्रवक्ता एवं डिएसपी सुरज कार्कीका अनुसार बेपत्ता भएका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजनको शव घटनास्थल आसपासको क्षेत्रमा फेला परेको हो। राजन यादवको शव डुबेको स्थानमै हिलोमा गाडिएको अवस्थामा फेला परेको थियो भने अन्य दुई बालकको शव घटनास्थलबाट करिब १५ मिटर तल नदीमा भेटिएको थियो।
बालकहरूको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो। घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहकार्यमा खोजी कार्य शुरू भएको थियो।
हाल शवलाई पोष्टमार्टमका लागि भीम अस्पताल, भैरहवा पठाइएको प्रहरीले जानकारी दिएको छ।
वैशाख ९, २०८२ मंगलबार १६:३८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।