अनुभवको अपमान नगरौं, युवाको नाममा बुढाहरूलाई हेप्नु गलत हो : मीन विश्वकर्मा

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले युवाको नाममा स्थापित हुँदै गएको ‘बुढाहरूबाट अब पार्टी चल्दैन’ भन्ने धारणा प्रति आपत्ति जनाएका छन्। उनले अनुभव र योगदानको अवमूल्यन गर्दै पुस्तान्तरणको नाममा 'बुढा' नेताहरूलाई पछाडि धकेल्ने प्रवृत्तिलाई गलत भने।
पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रममा बोल्दै विश्वकर्माले राजनीतिक योगदानको मूल्यांकन उमेरका आधारमा नभएर कामका आधारमा हुनुपर्ने स्पष्ट पारे।
उनले भने,‘भर्खर बनाएका पार्टी चाँही जति वर्षकाले बनाएपनि स्वत युवाको पार्टी हुने र पुराना पार्टी जसले पटक–पटक क्रान्ति, संघर्ष र आन्दोलन गरेर आज नागरिकहरुलाई स्वतन्त्र गर्नका साथै समृद्ध बनाउने प्रतिस्पर्धामा छौं । तर यो स्वत बुढाको पार्टी हो भन्ने बजारमा भाष्य छ । जनमानसमा पार्टी बुढाहरुबाट चल्दैन, पुस्तान्तरण हुनुपर्छ भनेर सजिलै भनिदिनुहुन्छ । गरेको चाँही नदेख्ने र गर्छु भन्नेलाई चाँही दिनुपर्छ भनेर हावामा विश्वास गर्ने < यो भाष्य बजारमा देखिएको छ । देशव्यापी रुपमा यो भाष्यलाई चिर्नको लागि खण्डन गर्नेगरी एउटा सन्देश चाँही लानुपर्छ भनेर एउटा नारा तयार गरयौं ।’
उनले युवालाई अवसर दिनुपर्ने कुरा स्वीकार गरे तापनि, त्यसो भन्दैमा अनुभव र योगदान बोकेका नेताहरूको अस्वीकार गरिनु नहुने बताए।
उनले कांग्रेसभित्रकै केही नेताहरू सामाजिक सञ्जालमा आएका ट्रेन्ड र लहरको पछि लागेर गैर-जिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै चिन्ता व्यक्त गरे।
वैशाख ९, २०८२ मंगलबार १६:२५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।