देश संकटमा छ, ओली बाँसुरी बजाउँदै बसेका छन् : घनश्याम भुसाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरू जनताको पीडालाई बेवास्ता गर्दै भाषणमा मात्रै सीमित रहेको भन्दै आलोचना गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनका मुख्य दलहरूको काम र भनाइमा विरोधाभास रहेको बताए।
भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘देशभर आन्दोलन चर्किएको छ, संकटले देश डुब्न थालिसकेको छ। तर कमरेड ओली बाँसुरी बजाएर बस्नुभएको छ, ठीक निरोजस्तै। अब पनि ‘आइलभयू केपी बा’ भन्ने कार्यक्रम गरिन्छ रे! त्यो लोकतन्त्रमा आक्रमण गर्ने नेताबाट हिसाब माग्नु पर्ने बेला हो, महिमा गाउने होइन।’
उनले भने, ‘यत्रो आन्दोलन चलिरहेको छ । निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली । बैशाख ११ गते आइलभयू केपी बा भन्ने रे ! कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो र,’उनले थपे, ‘सारा संकटले देश डुब्दैछ । उनलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर ‘केपी बा’भनिदिउनभन्ने अपेक्षा गर्नुभएको छ । त्यो तहमा पुग्ने नेताका लागि, यो तहको आकांक्षा हुनु देशको दुर्भाग्य होइन ?’
उनले थपे, ‘देश यति ठूलो संकटमा हुँदा नेताले आफ्नो नामको जयजयकार गराउने आकांक्षा राख्नु दुर्भाग्यपूर्ण हो। एक लाख मान्छे जम्मा भएर ‘केपी बा’ भनून् भन्ने सोच देशको लागि विनाशकारी मानसिकता हो।’
शिक्षक आन्दोलनको सन्दर्भमा बोल्दै भुसालले सरकार शिक्षकहरूको जायज माग सम्बोधन गर्न असफल भएको आरोप लगाए। उल्टै शिक्षामन्त्रीलाई नै राजीनामा दिन बाध्य बनाएको उल्लेख गर्दै उनले सरकारलाई गम्भीर ढंगले जिम्मेवारी लिन आग्रह गरे।
‘देशभर निराशा र उकुसमुकुसको अवस्था छ,’ भुसालले भने, “यही बेलामा पुनरुत्थानवादी र अराजक तत्वहरू सक्रिय हुँदैछन्, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो।’
वैशाख ९, २०८२ मंगलबार १६:०३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।