एक प्रति पत्रिकामा मात्र सूचना छपाएर पचरौता नगरपालिकामा ठेक्का अनियमितता, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर आर्थिक अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी प्रावधानलाई उल्लंघन गरी तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, लेखापाल हासिम मियाँ अंसारी र केएस मल्टीपर्पोज प्रालिका अध्यक्ष कमल कुमार उपाध्यायको मिलेमतोमा अनियमितता पुष्टि भएको आयोगको दाबी छ।
अनुसन्धानका क्रममा ‘प्रभाव दैनिक’ पत्रिकामा एक प्रति मात्र सूचना प्रकाशन गरी ठेक्काको अभिलेखमा राख्ने प्रयोजनका लागि झुटा विवरण तयार पारी केएस मल्टीपर्पोज प्रालिलाई तीन लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी गरेको ठहर भएको छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम कसूर भएको आयोगको ठहर छ।
आयोगले श्याम प्रसाद यादव र हासिम मियाँ अंसारीविरुद्ध बिगो तीन लाख ५२ हजार ५६० रुपैयाँ कायम गरी कैद, जरिवाना र बिगो असूलको मागदाबी गरेको छ।
साथै, केएस मल्टीपर्पोज प्रालि र कमल कुमार उपाध्यायलाई गैरकानूनी लाभ प्राप्त गर्ने मतियारको आरोपमा मुख्य कसूरदार सरह सजाय र बिगो असूलको मागसहित आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
वैशाख ९, २०८२ मंगलबार १४:४२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।