‘कानून मन्त्रालयको उपसचिव हुँ’ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

‘कानून मन्त्रालयको उपसचिव हुँ’ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं : नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दैलेख घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।

जानकीमाथि ‘कानून मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईंलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाइदिन्छु’ भन्दै सात लाख ६० हजार ८ सय रूपैयाँ लिएको आरोप छ।

साथै अन्य दुई जना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाइदिन्छु भनी केही रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

वैशाख ९, २०८२ मंगलबार १४:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।