‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन्।
नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले रियल स्टेट क्षेत्रसम्बन्धी भ्रम चिर्ने जिम्मेवारी व्यवसायीकै भएको बताए।
‘विश्वका कतिपय मुलुकमा रियल स्टेटलाई प्रतिष्ठित उद्योगका रुपमा अघि बढाइएका छन्, तर हाम्रो देशमा यस क्षेत्रले राम्रो सन्देश दिन सकिरहेको छैन”, मन्त्री अधिकारीले भने, “नेपालमा नाफाका लागि मात्रै घरजग्गा व्यवसाय गरेका छन् भन्ने भ्रम चिर्न आवश्यक छ ।” मुलुकको प्रचलित कानुनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उनले त्यसखालको भ्रम चिर्न नसकेसम्म व्यवसाय विस्तार नहुने बताए।
निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरिरहेको उनले जानकारी दिए। मन्त्री अधिकारीले छ दशक पुराना नापी र भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको स्पष्ट पारे। “भूमीसम्बन्धी ऐनको मस्यौदा तयार गर्न मन्त्रालय समिति बनाएर काम गरिरहेको छ, विज्ञ र सरोकारवालासँगको छलफलबाट यसलाई टुङ्ग्याइन्छ, नापी ऐन तयार भइसकेको छ’, उनले भने।
वैशाख ९, २०८२ मंगलबार १४:१५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।