शिक्षक आन्दोलनको असर : मुख्य सडक ठप्प, करिडोरमा जाम (तस्बिरहरू)

काठमाडौं : विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा २१ दिनदेखि शिक्षक आन्दोलन जारी छ।
चैत २० गतेदेखि सुरू भएको यो आन्दोलनले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई पूर्णरूपमा प्रभावित पारेको छ। आन्दोलनका कारण मुख्य सडकहरू अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।
सुरुवाती दिनमा बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रदर्शन गर्ने शिक्षकहरूले हाल समय घटाएर दैनिक तीन घण्टा (बिहान ९ देखि १२ बजेसम्म) आन्दोलन गरिरहेका छन्। वैशाख ८ गते अघिसम्म दिउँसो १२ देखि ३ बजेसम्म प्रदर्शन गरेका थिए।
महासंघले शिक्षकहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ। शिक्षकहरूले सडकमै हाजिरी गर्ने गरेका छन्। आन्दोलनका कारण माइतीघर, बबरमहल र बानेश्वरका मुख्य सडकहरू दैनिक तीन घण्टा ठप्प हुँदा कार्यालय समयमा सवारी आवागमनमा ठूलो समस्या देखिएको छ।
मुख्य सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गहरू धोबीखोला र बागमती नदी करिडोरमा सवारीको चाप बढेको छ। जसकारण, यी क्षेत्रमा पनि ट्राफिक जामको समस्या चर्किएको छ।
ट्राफिक प्रहरीले वैकल्पिक व्यवस्थापनको प्रयास गरे पनि आन्दोलनको दबाबले प्रभावकारी समाधान हुन सकेको छैन। स्थानीय र यात्रुहरूले आन्दोलनको माग जायज भए पनि ट्राफिक अवरोधले दैनिक जीवनमा ठूलो असर परेको गुनासो गरेका छन्।
आन्दोलन रोकिएला भन्ने आश गरिरहेका बेला सोमबार शिक्षा मन्त्रीको राजीनामा आएसँगै शिक्षक आन्दोलनको भविष्यबारे प्रश्न उठेको छ। यद्यपि मंगलबारको आन्दोलनमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने जसको राजीनामा आए पनि आफूहरू ऐन नलिई घर नफर्कने अडान दोहोर्याए।
यस्तै, कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाटै सञ्चालन हुने सन्दर्भमा पनि शिक्षक महासंघले प्रतिक्रिया दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले विहान मंगलबार विहान बोर्ड बैठक बसेर निजामती कर्मचारी खटाएर भए पनि परीक्षा गर्ने गरी निर्णय गरेको थियो। यसबारेमा महासंघका अध्यक्ष सुवेदीले कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएका छन्।
शिक्षा मन्त्रीको राजीनामा आएसँगै आन्दोलनको मोडालिटीबारे छलफल गर्न शिक्षक महासंघको बैठक आज बस्दैछ। बैठकले आगामी कार्यदिशा र मोडालिटी तय गर्नेछ। यद्यपि सुवेदी ऐन लिएरै फर्कने कुरामा भने दृढ देखिए।
वैशाख ९, २०८२ मंगलबार १४:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।