भारतीय क्रिकेटको सेन्ट्रल कन्ट्र्याक्टमा ३४ खेलाडी, ग्रेड ए प्लसमा रोहित र विराटसहित चार जना

भारतीय क्रिकेटको सेन्ट्रल कन्ट्र्याक्टमा ३४ खेलाडी, ग्रेड ए प्लसमा रोहित र विराटसहित चार जना

एजेन्सी : भारतीय क्रिकेटको पुरुषतर्फको सेन्ट्रल कट्रयाक्टमा ३४ खेलाडी समेटिएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार सार्वजनिक गरेको सूची अनुसार सन् २०२४/२५ का लागि समेटिएका खेलाडीहरुको नाम छ।

नयाँ सेन्ट्रल कट्र्याक्टको सूचीमा विराट कोहली, रोहित शर्मा, जसप्रीत बुमराह र रवीन्द्र जडेजा उच्चतम ग्रेड ए प्लस श्रेणीमा परेका छन्।

श्रेयस अय्यर ग्रेड बीमा फर्कँदा इशान किसान भने ग्रेड सीमा परेका छन्। यी दुवै खेलाडी २०२३/२४ सिजनका लागि जारी गरिएको करार सूचीबाट बाहिर राखिएका थिए।

भारतीय केन्द्रीय करार ०१ अक्टोबर २०२४ देखि ३० सेप्टेम्बर २०२५ सम्मका लागि लागू हुन्छ।

श्रेयस अय्यरको पुनरागमन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको पुरुष च्याम्पियन्स ट्रफीमा भएको उत्कृष्ट प्रदर्शनको कारण भएको हो, जहाँ उनले टोलीलाई उपाधिसम्म पुर्याए।

इशान किसान केही समयदेखि भारतको टोलीमा ब्याकअप विकेटकिपर ब्याट्सम्यानको भूमिकामा थिए। हालैको आईपीएलको सुरुआत शतकबाट गरेका छन्।

ग्रेड ए मा विकेटकिपर/ब्याट्सम्यान ऋषभ पन्त र केएल राहुल, तीव्र गतिका बलर मोहम्मद सिराज र मोहम्मद शमी, अलराउन्डर हार्दिक पाण्ड्या तथा ब्याट्सम्यान शुभमन गिल रहेका छन्।

यसपटक ग्रेड सीमा परेका अभिषेक शर्मा, हर्षित राणा, नितिश कुमार रेड्डी र वरुण चक्रवर्तीको यो पहिलो केन्द्रीय करार हो।

ग्रेड ए प्लसमा पर्ने खेलाडीले वार्षिक सात करोड भारु अर्थात ११.२ करोड नेपाली रुपैयाँ तलब पाउँछन्। ग्रेड एमा पर्ने खेलाडीले वार्षिक पाँच करोड भारु अर्थात आठ करोड नेपाली रुपैयाँ पाउनेछन्।

ग्रेड बीमा भएका खेलाडीले ३ करोड भारु अर्थात ४.८ करोड नेपाली रुपैयांँ पाउँदा ग्रेड सीमा परेका खेलाडीले वार्षिक एक करोड भारु अर्थात १.६ करोड नेपाली रुपैयाँ पाउँछन्।

त्यसबाहेक खेलाडीहरूले प्रति खेल खेलेबापत भत्ता पनि पाउँछन्।  टेस्ट म्याचमा १५ लाख भारु, एकदिवसीयमा ६ लाख भारु र टी-२० मा ३ लाख भारु भत्ता दिइने गरेको बीसीसीआईले जनाएको छ।

वैशाख ९, २०८२ मंगलबार १३:०८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।