ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालय अदालतमा

एजेन्सी : अमेरिकाको हार्वर्ड विश्वविद्यालयले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब दिएर विश्वविद्यालयको शैक्षिक कामकाज नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ। यसले विश्वविद्यालयको संवैधानिक अधिकारको उल्लंघन गरेको हार्वर्डको ठहर छ।
ट्रम्प प्रशासनले हार्वर्डको २.२ बिलियन डलरको कोष रोकेपछि विश्वविद्यालयले अदालतको ढोका ढकढक्याएको हो।
हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरूले पनि अप्रिल १२ मा म्यासाचुसेट्स संघीय जिल्ला अदालतमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका थिए।
विश्वविद्यालयको कोष रोक्ने धम्की विरुद्ध प्राध्यापकहरूको दुई समूहले यो मुद्दा दायर गरेका थिए। वास्तवमा त्यतिबेला ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिइएको ९ अर्ब डलरको कोषको समीक्षा गरिरहेको थियो।
हार्वर्डका प्राध्यापकहरूले ट्रम्पको निर्णयले अमेरिकी संविधानको पहिलो संशोधनको उल्लङ्घन गरेको बताएका छन्। प्राध्यापकहरूले विश्वविद्यालयको कोष कटौती गर्नु अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको आरोप लगाएका छन्।
अदालतमा दायर गरिएको निवेदनमा ट्रम्प प्रशासनको निर्णयमाथि रोक लगाउन पनि माग गरिएको छ।
वैशाख ९, २०८२ मंगलबार ११:३८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।