भारतका विद्युत् मन्त्री खट्टर काठमाडौंमा, अरुण तेस्रो अवलोकनदेखि तुम्लिङटार सबस्टेसन उद्घाटनसम्मका कार्यक्रम

काठमाडौं : भारतका विद्युत्, आभास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन्।
भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए।
गत माघ ३० गते भारत भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले उनलाई भ्रमणको निम्तो दिएका थिए।
ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले आज दिउँसो कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेसनको संयुक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ।
उनले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने छन्।
त्यसैगरी दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।
बुधबार विहान खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्दैछन्। दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने उनले साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम छ।
वैशाख ९, २०८२ मंगलबार १०:४७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।