शिक्षक आन्दोलनका बीच कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाटै हुने

शिक्षक आन्दोलनका बीच कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाटै हुने

काठमाडौं : कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाटै हुने भएको छ।

मंगलबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले परीक्षा वैशाख ११ गतेबाटै सुरु गर्ने निर्णय गरेको बोर्डका एक कर्मचारीले जानकारी दिए।

उनका अनुसार सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। शिक्षकहरूले नमानेको खण्डमा अन्य सरकारी कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डको छ।

बोर्डको निर्णयसँगै अब शिक्षकहरूको आन्दोलनले कक्षा १२ को परीक्षा प्रभावित नहुने देखिएको छ। योसँगै विद्यार्थीहरूलाई आफ्नो प्रवेश परीक्षा संकलन गर्न र परीक्षा दिन तयार भएर बस्न समेत बोर्डले आग्रह गरेको छ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा आउँदा कक्षा १२ को परीक्षा कसरी हुन्छ भन्ने अन्यौल थियो।

यसअघि बोर्डले शिक्षकहरूलाई कक्षा १० को परीक्षाका उत्तरपुस्तिका परीक्षण गर्न र कक्षा १२ को परीक्षामा सहभागी हुन आग्रह गरेको थियो।

तर शिक्षकहरूले सरकारले आफूहरूसँग पटक-पटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेको भन्दै यसपटक ऐन लिएर मात्रै कक्षाकोठामा फर्कने अडानमा छन्।

वैशाख ९, २०८२ मंगलबार १०:०९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।