मन्त्री बन्ने चर्चाका बीच डा. शाक्यको प्रष्टिकरण- ‘तत्काल इच्छा छैन’

मन्त्री बन्ने चर्चाका बीच डा. शाक्यको प्रष्टिकरण- ‘तत्काल इच्छा छैन’

काठमाडौं : एमाले नेतृ तथा राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले आफूलाई शिक्षा मन्त्री बनाउन लागिएको भन्ने सामाजिक सञ्जालमा चलेको चर्चा र केही मिडियामा आएका समाचारको खण्डन गरेकी छन्।

आफ्नो फेसबुक पेजमार्फत लामो स्टाटस लेख्दै यस्ता समाचारले भ्रम सिर्जना गरेको र आफ्नो रुचि तथा विज्ञता नभएको मन्त्रालयसँग जोडेर गलत प्रचार गरिएको बताएकी हुन्।

प्रधानमन्त्रीसँगको असमझदारीका बीच सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि  डा. शाक्य मन्त्री बन्ने चर्चा सामाजिक सञ्जालमा चुलिएको छ। त्यही चर्चाका बीच उनले यसको खण्डन गरेकी हुन्।

डा. शाक्यले आफूलाई हालै मात्र अन्तर-व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रबाट निर्वाचित भएको उल्लेख गर्दै यो जिम्मेवारीले नेपालको अन्तर्राष्ट्रिय इज्जत र प्रतिष्ठा बढाउन भूमिका खेलेको बताइन्।

उनले आफ्नो पहिलो कर्तव्य सोही संस्थामा गरिएका प्रतिबद्धता पूरा गर्नु र नेपालको प्रतिष्ठालाई विश्वमाझ थप उचो बनाउनु रहेको स्पष्ट पार्दै तत्काल मन्त्री बन्ने कुनै इच्छा वा योजना नरहेको बताइन्।

‘राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले ऐन-कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने अहिले मेरो दायित्व हो। मन्त्री भएर यी कर्तव्यबाट विमुख हुने पक्षमा म छैन। तत्काल मन्त्री बन्ने कुनै इच्छा वा योजना छैन’, उनले लेखेकी छन्।

पूर्वराजदूतको अनुभव र विश्व समुदायबाट अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको व्यक्तिको हैसियतले आफूलाई शिक्षा क्षेत्रका समस्यासँग जोडेर केही व्यक्तिले पूर्वाग्रह राखी मिथ्या प्रचार गरेको हुनसक्ने उनको आशङ्का छ।

उनले सञ्चारमाध्यमहरूलाई यस्ता भ्रामक र कपोलकल्पित समाचार प्रकाशन/प्रसारण नगर्न र गलत स्वार्थका लागि फैलाइएको भ्रमको पछि नलाग्न सबैमा अनुरोध गरेकी छन्।

‘मेरा शुभचिन्तक, सरोकारवालाहरू र आफन्तहरूमा समेत यस्ता भ्रामक प्रचारले भ्रम सिर्जना होला भनी यो जानकारी गराएको हुँ’, उनले लेखेकी छन्।

डा. शाक्यले आफ्ना कर्तव्य र इमानदारीप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै यस्ता गलत प्रचारको पछि नलाग्न अनुरोध गरेकी छन्।

वैशाख ९, २०८२ मंगलबार ०९:३७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।