पानी पर्दा खुलेको काठमाडौं फेरि प्रदूषित शहरहरूको सूचीमा

काठमाडौं : काठमाडौं फेरि प्रदूषित शहरको सूचीमा आएको छ।
प्रदूषित शहरको पहिलो नम्बरमा आएपछि सास फेर्नै गाह्रो भएको काठमाडौंवासीले वर्षा भएपछि केही राहत महसुस गरेका थिए। तर, शनिबार विहानदेखि पानी नपर्दा पुनः काठमाडौंको वायु प्रद्रूषण उच्च हुँदै प्रदूषित शहरको सूचीमा परेको हो।
विहान नौ बजेको समयमा काठमाडौं विश्वको तेस्रो सबैभन्दा बढी प्रदूषित शहर हो। अहिले काठमाडौंको हावाको गुणस्तर १७४ एक्यूआई छ। जुन स्वास्थ्यका लागि अस्वस्थकर हो।
विहान बढी देखिए पनि दिउँसो हावा चलेसँगै यो घट्ने मौसमविद्हरूको भनाइ छ। दिउँसो हावाको बेग बढेसँगै प्रदूषण १५० भन्दा तल झर्ने उनीहरूको अनुमान छ।
विश्वभरको हावाको गुणस्तर मापन गर्ने वेबसाइट एक्यूआईले नेपालभन्दा अगाडि भारतको नयाँ दिल्ली (१९९) र इजिप्टको कायरो (१७९) देखाएको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ० देखि ५० सम्म एक्यूआई भएको हावा स्वस्थकर, ५१ देखि १०० सम्मको मध्यम, १०१ देखि १५० सम्मको संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ।
यसका साथै १५१ देखि २०० सम्म अस्वस्थ्यकर, २०१ देखि ३०० सम्म अति अस्वस्थ्यकर र ३०१ एक्यूआईभन्दा माथि घातक हुने भनेर संगठनले तोकेको छ। पानी पार्दा १०० भन्दा तल झर्ने एक्यूआई अहिले २०० आसपास छ।
यस्तो अवस्थामा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्किन बाहिर निस्कनै परे मास्कको प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।
वैशाख ९, २०८२ मंगलबार ०९:२०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।