शिक्षा मन्त्रीलाई बलीको बोको बनाइयो, प्रधानमन्त्रीको असफलताको भारी बोकाउन खोजियो : शिशिर खनाल

शिक्षा मन्त्रीलाई बलीको बोको बनाइयो, प्रधानमन्त्रीको असफलताको भारी बोकाउन खोजियो : शिशिर खनाल
फाइल तस्बिर

काठमाडौं : पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शिक्षा मन्त्री विद्या भट्टराईलाई बलिको बोको बनाइएको टिप्पणी गरेका छन्।

शिक्षकहरुको आन्दोलन चलिरहेका बेला उनीहरुको माग सम्बोधनका लागि भनेर लागिरहेको मन्त्रीलाई प्रधानमन्त्री र अर्थमन्त्रीले सहयोग नगरेर शिक्षामन्त्रीलाई बलिको बोको बनाइएको उनको धारणा छ।

शिक्षा मन्त्री भट्टराईको राजीनामापछि खनालको यस्तो अभिव्यक्ति आएको हो।

आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षा मन्त्रीले मात्र पूरा गर्न सक्ने खालका नभएको र समाधान अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नभएको उनको भनाइ छ।

‘तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा बलिको बोको शिक्षा मन्त्रीलाई बनाइँदैछ। प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन्’, उनले भने।

चालकको असफलताको भारी सहचालकलाई बोकाउन खोजिएकोमा उनले असन्तुष्टि जनाएका छन्।

शिक्षक आन्दोलनको पृष्ठभूमि नीतिगत, आर्थिक, र सामाजिक समस्याहरूसँग जोडिएको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा सञ्चालित यो आन्दोलनको मुख्य कारण विद्यालय शिक्षा ऐन पारितमा ढिलाइ, शिक्षकको पेशागत असुरक्षा, र सेवा–सुविधाको अभाव हो।

शिक्षकहरूले ऐनमा निजामती कर्मचारीसरह तलब, अस्थायी शिक्षकको स्थायीकरण, र शिक्षालाई संघीय सरकार मातहत राख्ने माग राखेका छन्। लामो समयदेखि स्थायी दरबन्दी थप नहुँदा राहत, इसिडी, र करार शिक्षकहरू असुरक्षित छन्।

सामुदायिक र संस्थागत विद्यालयबीचको गुणस्तरीय खाडलले शिक्षकको आत्मसम्मानमाथि प्रश्न उठ्छ। सरकारका विगतका सम्झौताहरू कार्यान्वयन नहुँदा शिक्षकहरूमा अविश्वास छ। आर्थिक सीमितताले तलब वृद्धि र पूर्वाधार विकासमा बाधा पुगेको छ, भने स्थानीय तहको अधिकारले नीतिगत एकरूपता कायम गर्न कठिनाइ भएको छ।

आन्दोलन २० दिनदेखि जारी छ, र सरकारसँगको वार्ता असफल हुँदा शिक्षकहरूले सडक आन्दोलनलाई निरन्तरता दिएका छन्। यसले विद्यार्थीको शिक्षामा बाधा पुगेको छ।

वैशाख ९, २०८२ मंगलबार ०८:०५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।