कोलकातालाई ३९ रनले हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौं : कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ।
आठमध्ये छ खेलमा जित निकालेको गुजरात १२ अंकसहित पहिलो स्थानमा रहँदा पराजित कोलकाता भने आठमध्ये तीन खेलमा जित निकाल्दै छ अंकसहित सातौं स्थानमा छ।
कोलकाताको इडन गार्डेन रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको गुजरातले २० ओभरमा तीन विकेट गुमाएर १९८ रन बनाए। उसका लागि कप्तान शुभमन गिलले ९०, साइ सुदर्शनले ५२ रन बनाउँदा जोस बटलरले ४१ रनको पारी खेले।
कोलकाताका आन्द्रे रसल, हर्सित राना र वैभव अरोराले समान एक-एक विकेट लिए।
जवाफी लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा आठ विकेट गुमाएर मात्र १५९ रनमा समेटियो। उसका लागि कप्तान अजिन्क्या रहानेले ५० रनको पारी खेल्दा अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।
गुजरातका प्रसिद्ध कृष्ण र रसिद खानले समान दुई-दुई विकेट लिँदा मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साइ किशोरले समान एक-एक विकेट लिए।
वैशाख ९, २०८२ मंगलबार ०७:१५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।