गायक बन्ने सपना बोकेका हेमन्तलाई सारंगीले बनायो ‘स्टार’

गायक बन्ने सपना बोकेका हेमन्तलाई सारंगीले बनायो ‘स्टार’

काठमाडौं : सारंगी वादक, लोकप्रिय गायक, मौलिक गीतका सर्जक, कुशल संगीतकार। हेमन्त कान्छा रसाइलीसँगै यस्ता अनेक परिचय जोडिएका छन्।

यीमध्ये पनि एउटा परिचय मिठो लाग्छ उनलाई ‘सारंगी वादक’।

उनको लगाव गायनमा थियो, तर  भविष्य सारंगी बन्यो। त्यसैले उनलाई यही परिचय प्यारो छ।

उनले सारंगीको सुरक्षा गरेका छन्। बदलामा सारंगीले उनको भविष्यको सुरक्षा गरेको छ। सारंगी जति रेट्छन्, उति तिखारिँदो छ उनको आर्थिक भविष्य।

‘मेरो करिअरको सुरुवात गायनबाट भयो। तर सफलता सारंगीले दियो। मेरो चिनारी यही हो। मेरो साथी र जिन्दगी नै सारंगी हो’ उनले भने।

हेमन्तले सङ्घर्षका दिनहरू सम्झिए, जति बेला उनीसँग केवल दुई विकल्प थिए। ०५८-५९ सालतिर उनी ठमेल बजारतिर डुल्दै थिए। सानैदेखि गीत-सङ्गीतमा लगाव थियो नै । उनको नजर सारङ्गीतिर पर्यो।

चार सय रुपैयाँ तिरेर सारंगी किने। कहिले रातको १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठेर सारंगी समाउँथे। तपस्या जत्तिकै भयो उनको।

सायद त्यो कठोर तपस्याले सारंगीले उनको औँला चिन्यो। तर हेमन्तले चिनेनन्। उनमा सारंगी बाधक हैन, गायक हुने जुनुन सवार थियो।

०६२-६३ तिर ‘काँचो सुन्तला’ गीतमा सारंगी बजाएका थिए। त्यसपछि २०-२५ वटा गीतमा सारंगी बजाए। त्यतिबेला उनलाई गर्व हैन लाज लाग्यो रे।

‘धुन पो बिगारेँ’ कि भन्ने डर भयो, अनि टुंगियो सारंगीसँगको यात्रा!

गायक बन्न भौँतारिए उनी। गाएका गीतबाट राम्रै प्रतिक्रिया त पाए तर पहिचान बनेन। जीविकोपार्जनै कठिन हुन थाल्यो।

अब सारंगी बजाएर गुजारा धान्ने कि विदेश जाने? यही मात्र विकल्प देखे उनले। उनी ‘वैदेशिक रोजगार’ मै जाने भए।

‘जापानमा भविष्य राम्रो छ भन्ने सुनेका थिएँ, त्यतै जाने तयारी थालेँ,’ उनले भने ‘जापानमा सारंगी बजाएर अथवा सिकाएर भए पनि ज्यान पाल्छु भन्ने सोचेको थिएँ तर पैसा फस्यो।’

उनको ‘प्लान चौपट’। न यता न उता। दोहोरी साँझमा काम गर्दै एल्बम निकाल्ने अनि गर्जो टार्ने योजनामा पुगे। भटाभट आएको मौका छाडेनन्। सारंगी बजाउँदै गए। अहिलेसम्म उनको धुन भरिएको गीतको संख्या १६ हजार पुगिसक्यो। त्यसमा सुपरहिट गीतहरू पनि छन्।

‘सिक्दै जानेक्रममा मैँले आइडलका रूपमा झलकमान गन्दर्भलाई लिएँ। दुःखका दिन त छँदै छन् तर पनि सारंगी वादकका रूपमा १६ हजार गीतमा धुन दिएँ,’ उनले भने ‘सारंगी वादन कठिन काम हो। सिक्न तपस्या नै गर्नुपर्छ। गहिराइमा डुब्नुपर्छ। जोकोहीले सारंगी बजाउन सक्दैन।’

गीत गाउने रहर मेटिएको छैन। गाएका पनि छन्। तर प्रमुख काम सारङ्गीलाई नै दिएका छन्। उनी एल्बम हुँदै अहिले फिल्ममा पुगिसकेका छन्।

आकाङ्क्षा धामी/ नेपाल न्युज बैंक

वैशाख ८, २०८२ सोमबार २१:५३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।