उपसचिवको नक्कली परिचयमा लाखौं ठग्ने महिला पक्राउ

काठमाडौं : विभिन्न व्यक्तिलाई आफू कानून मन्त्रालयको उपसचिव र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भनेर ठगी गर्ने एक महिलालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ।
दैलेख घर भई ललितपुर बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई काठमाडौंको त्रिपुरेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। उनले फरक-फरक व्यक्तिलाई सरकारी जागिर दिलाइदिने, विमानस्थलको ठेक्का मिलाइदिने, अनुदान व्यवस्था गरिदिने जस्ता प्रलोभन देखाई ७ लाख ६० हजार ८ सयभन्दा बढी रकम ठगी गरेको अभियोग लागेको छ।
प्रहरी अनुसार न्यौपानेले ठगीका लागि आफूलाई सरकारी उपसचिवका रूपमा प्रस्तुत गर्दै विश्वास जित्थिन्। राजस्व र धरौटी रकमको नाममा पैसा संकलन गरेकी उनले अझै केही पीडितहरूसँग बाँकी रकम मागिरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
हाल उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
यस प्रकरणलाई लिएर प्रहरीले सर्वसाधारणलाई सावधान रहन र यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ। यस्ता ठगी प्रवृत्तिहरू दिनप्रतिदिन परिवर्तन हुँदै गएकाले प्रहरीको सतर्कता र नागरिक सचेतनाको संयोजन अत्यावश्यक रहेको बताइएको छ।
वैशाख ८, २०८२ सोमबार २१:२०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।