सिन्धु विकास बैंकको तेस्रो त्रैमासः प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार

सिन्धु विकास बैंकको तेस्रो त्रैमासः प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार

काठमाडौं :  सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकका सबै प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ।

बैंकले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा रु. ७ करोड ८४ लाख खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु. ५ करोड ४० लाख नोक्सानको तुलनामा निकै सकारात्मक उपलब्धि हो।

दोस्रो त्रैमासमा ८.२२ प्रतिशत रहेको पूँजीकोष अनुपात तेस्रो त्रैमासमा सुधार भई ११.४९ प्रतिशतमा पुगेको छ। नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम १० प्रतिशत पूँजीकोष अनुपातभन्दा कम हुँदा बैंक सिङ्गो सुधारात्मक कारबाहीमा परेको थियो। अब पूँजीकोषमा सुधार आएसँगै उक्त कारबाहीबाट मुक्त हुने अपेक्षा गरिएको छ।

चैत्र मसान्तसम्म बैंकको प्रति शेयर आम्दानी (EPS) रु. १८.७६, निष्क्रिय कर्जा अनुपात (NPL) ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत र प्रति शेयर नेटवर्थ रु. ७९.८९ रहेको छ।

हालै मात्र बैंकले विगत दुई आर्थिक वर्षका वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साथै, नेपाल राष्ट्र बैंकले प्रादेशिक विकास बैंकका लागि तोकेको न्यूनतम चुक्ता पूँजी रु. १२० करोड पुर्याउन हालको चुक्ता पूँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरिएको जानकारी पनि दिएको छ।

वैशाख ८, २०८२ सोमबार १९:३१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।