३ करोड अवैध आम्दानी भेटिएपछि गौरीघाटका करार अमिनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करारमा कार्यरत अमिन दिनेश प्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मिति २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार मसान्तसम्मको अवधिमा यादवको वैध आम्दानी रु. २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा मात्र देखिएको छ। तर, सोही अवधिमा उनले गरेको कुल खर्च भने ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा रहेको पाइएको छ।
उनको खर्च वैध आम्दानीभन्दा झण्डै ३ करोड २९ लाख रूपैयाँले बढी देखिएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिमको कसुरमा उनलाई दोषी ठहर गर्दै मुद्दा दायर गरेको हो।
‘दिनेश यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको गैरकानुनी सम्पत्ति आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको पाइएकाले जफत प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको छ,’ आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ।
मुद्दामा बिगो बराबरको सम्पत्ति जफत गर्नुका साथै बाँकी बिगो असुल गर्न प्रचलित कानूनअनुसार कारबाही माग गरिएको छ।
वैशाख ८, २०८२ सोमबार १६:१२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।