अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्यायो : परराष्ट्रमन्त्री राणा

अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्यायो : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको बताएकी छन्। 

बैङ्ककमा सोमबारदेखि शुरू संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रमा मन्तव्यमा दिँदै उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थित शहरीकरण पनि एक रहेको बताइन। 
 
उनले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन। शहरहरू बीचको  सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसाङ्ख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्ने उनको भनाइ थियो।
 
डा राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएको बताइन। परराष्ट्रमन्त्री डा राणाले एसिया र प्रशान्त क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने धारणा व्यक्त गरिन।  
 
उनले जलवायुजन्य विपद्को दृष्टिले यस क्षेत्र जोखिममा रहेको उल्लेख गर्दै हाम्रा शहर र समुदायहरू बाढी, खडेरी र चरम मौसमी दुर्घटनाजस्ता जोखिममा रहेका स्पष्ट पारिन।
 
वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको उनको दाबी थियो। मन्त्री डा राणाले आगामी ‘मे’मा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको अवस्था र यसका चुनौतीको समाधानका लागि पहल गर्ने जानकारी दिइन्।
 
उनले यी सबैखाले समस्याको समाधानका लागि क्षेत्रीय एकता र सामूहिक सहकार्य आवश्यक रहेकामा जोड दिइन्।

वैशाख ८, २०८२ सोमबार १५:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।