आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा, शिक्षकहरूद्वारा बोर्डको कार्यक्रम बहिष्कार

आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा, शिक्षकहरूद्वारा बोर्डको कार्यक्रम बहिष्कार

जनकपुर : विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ जिल्लाका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उता वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा हुने कार्यतालिका सार्वजनिक भइसकेको छ। तर शिक्षकहरू आन्दोलनमै रहेकाले  परीक्षा हुने की नहुने अन्योल बढाएको छ। ​​​​​​​

जनकपुरधामस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख दयाराम राई केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशन अनुसार परीक्षा निर्धारित समयमै हुने गरी काम भइरहेको बताउँछन्। उत्तरपुस्तिकलगायत परीक्षा सामग्रीहरू सम्पूर्ण परीक्षा केन्द्रहरूमा पुगिसकेको र विद्यार्थीहरूको प्रवेश पत्र वितरण हुने कार्य अहिले जारी रहेको कार्यालय राईले बताए।

केन्द्रीय कार्यालयबाट परीक्षा स्थगित भएको भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएकाले आफूहरूले परीक्षा तोकिएकै दिन र समयमा गर्ने गरी तयारी पूरा गरेको उनले बताए। उनले विद्यार्थीहरूलाई पनि तोकिएकै समयमा परीक्षा लिइने भन्दै त्यस बमोजिम तयारी गर्न आग्रह गरे।

तर परीक्षाबारे सबैमा एकमत देखिन्न। केही माग पुरा नभएसम्म परीक्षा नलिने अडानमा छन्। जनकपुरधामस्थित ऐतिहासिक ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले परीक्षा बोर्डले तोकिएकै समयमा परीक्षा सञ्चालन हुने गरी तयारी गरे पनि शिक्षक महासंघको निर्णय अनुसार आफूहरूको माग सरकारले पूरा नगरेसम्म कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने बताए। 

परीक्षा बोर्डले अभिमुखीकरण कार्यक्रमका लागि बोलाए तापनि आफूहरू नगएको उनले जानकारी दिए। सरकारले शिक्षकहरूको माग सम्बोधन गरे ७२ घण्टाभित्र परीक्षा सञ्चालनको तयारी पूरा हुने उनको भनाइ छ।

परीक्षा समयमा नहुँदा विद्यार्थीहरूमा पर्ने असुविधाको सम्पूर्ण जिम्मेवार सरकार हुने उनको भनाइ छ। चुनावका बेला हरेक राजनीतिक दलहरूले शिक्षाको विषयलाई आफ्नो एजेन्डा बनाउने तर चुनाव जितिसकेपछि शिक्षालाई प्राथमिकता नदिने गरेको प्रधानाध्यापक झाको आरोप छ।

तीन तहको सरकार आएतापनि कुन तहको काम के हो भन्ने अन्यौलताको कारण विद्यालय सञ्चालन गर्नै गाह्रो भएको उनको भनाइ छ। उनले परीक्षा केही दिन सर्न सक्ने संकेत गरे। 

वैशाख ८, २०८२ सोमबार १४:१३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।