हिट होस् कि फ्लप, वर्षालाई फिल्म खेल्न भ्याइ नभ्याइ !

हिट होस् कि फ्लप, वर्षालाई फिल्म खेल्न भ्याइ नभ्याइ !

काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटीको व्यस्तता र लोकप्रियता दिनानुदिन बढ्दो छ। हालै फिल्म ‘माग्ने राजा’को छायांकन अन्तिम चरणमा पुग्दा उनले अर्को ठूलो प्रोजेक्ट ‘कार्की साइला’ हात पारेकी छन्।

सोमबार कोटेश्वरको महादेवस्थान मन्दिरमा ‘कार्की साइला’को स्क्रिप्ट पूजा र शुभ मुहूर्त सम्पन्न भयो। यो फिल्मको छायांकन २० वैशाखबाट धनकुटामा सुरु हुनेछ। यद्यपि, वर्षा भने आफ्नो पछिल्लो फिल्म ‘झिल्को’को प्रदर्शन (१९ वैशाख) र प्रमोशनका कारण जेठ १ बाट मात्र छायांकनमा जोडिने छिन्।

‘कार्की साइला’मा वर्षाको जोडीको रूपमा हास्य कलाकार जितु नेपाल पनि छन्। जितुसँग वर्षाले यसअघि ‘छक्का पञ्जा’मा सहकार्य गरिसकेकी छन्। कार्यक्रममा वर्षा र जितुले एकअर्काको तारिफ गरेरै थाकेनन्।

जितुको प्रशंसा गर्दै वर्षाले आफू जितु नेपालको ठूलो प्रशंसक भएको बताइन्। जितुसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको भन्दै वर्षाले यसबाट धेरै कुरा सिक्न पाउने विश्वास समेत व्यक्त गरिन्।

उता जितुले पनि वर्षाको तारिफमा कुनै कन्जुस्याइँ गरेनन्। उनले आफू वर्षाको फ्यान भएको भन्दै उनको अभिनय मन पर्ने बताए।

वर्षाले अभिनय गरेको पछिल्लो फिल्म ‘छक्का पञ्जा ५’ गत दशैंमा रिलिज भएको थियो, जसले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्यो। यो फिल्मले उनलाई हिटको ट्याग त दिलायो, तर अपेक्षित चर्चा भने प्राप्त भएन। तैपनि, उनको करिअरमा फिल्मको कमी छैन।

‘नाइँ नभन्नु ल २’बाट डेब्यु गर्दा तहल्का मच्चाएकी वर्षाले ‘पशुपति प्रसाद’, ‘परदेशी २’, ‘बीर बिक्रम २’ जस्ता फिल्ममा आफ्नो जादु देखाइसकिन्। जे होस्, हिट वा फ्लप जे भए पनि उनको हातमा फिल्मको लाइन लागेकै छ!

वैशाख ८, २०८२ सोमबार १४:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।