एन्फाद्वारा महिला टिमको मुख्य प्रशिक्षक र पफर्मेन्स एनालिस्टका लागि दरखास्त आह्वान

ललितपुर : अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला राष्ट्रिय फुटबल टिमका लागि मुख्य प्रशिक्षक र पफर्मेन्स एनालिस्ट पदमा दरखास्त आह्वान गरेको छ।
एन्फाले सोमबार एक सूचना प्रकाशित गर्दै दुवै पदका लागि योग्य तथा इच्छुक उम्मेदवारलाई ३० दिन अर्थात २० मे २०२५ भित्र आवेदन दिन आग्रह गरेको छ।
मुख्य प्रशिक्षक पदका लागि एक जना प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक आवश्यक पर्ने जनाइएको छ। उम्मेदवारले महिला सीनियर टिम वा युथ राष्ट्रिय टिममा व्यावसायिक स्तरमा कम्तिमा दुई वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ। यसका साथै, सफल कार्य सम्पादनको प्रमाणित इतिहाससमेत हुनुपर्ने उल्लेख छ।
यस्तै, पफर्मेन्स एनालिस्ट पदका लागि पनि एक जना कर्मचारी आवश्यक रहेको एन्फाले जनाएको छ। यस पदका लागि फुटबलसम्बन्धी फिटनेस कोर्ष र डाटा विश्लेषण (लेभल १) सम्बन्धी प्रमाणपत्र प्राप्त गरेको र कम्तीमा एक वर्षको अनुभव भएको उम्मेदवारले आवेदन दिन सक्नेछन्।
दुवै पदमा करारमा नियुक्ति हुने एन्फाले जनाएको छ। इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा, कभर लेटर र शैक्षिक प्रमाणपत्रहरू सहित [email protected] मा इमेलमार्फत आवेदन दिन सक्नेछन्।
आवेदन गर्दा विषयमा आफूले कुन पदको लागि आवेदन दिएको हो भन्ने स्पष्ट उल्लेख गर्नुपर्नेछ। छनोट प्रक्रिया संघका नियमअनुसार हुनेछ भने छनोटमा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिने एन्फाले जनाएको छ।
यसअघि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको कमान्ड राजेन्द्र तामाङले सम्हाल्दै आएका थिए। पछिल्लो समय महिला फुटबल टोलीले राम्रो गरिरहे पनि उपाधि जित्न भने सकेको छैन। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार १३ पटक नेपाली टोली फाइनल पुगेर रित्तो हात फर्कनुपरेको छ।
वैशाख ८, २०८२ सोमबार १२:३९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।