ट्रयाक खोलिएको २२ वर्षपछि मनाङमा नियमित सार्वजनिक बस सेवा सुरू

मनाङ : हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ।
ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो। प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवाको शुभारम्भ गरे।
सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौँपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए।
उनले भने, ‘भीरको सडकमा बस सञ्चालन गर्ने लक्ष्य लिइएको थियो। यो हाम्रो उपलब्धि हो। हामीले सर्वसाधारणका साथै पर्यटकलाई बस सेवा प्रवाह गर्नु आज ऐतिहासिक दिन हो।’
गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताए। नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले चामेबाट बस सञ्चालन भएपछि माथिल्लो मनाङबाट यात्रु भरिएर सवारीसाधन नपाउने त्रास हटेको बताए।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार बेसीसहर-चामे सडकमा बस सञ्चालन गर्न सकिने परीक्षण सफल भएपछि नियमित बस सेवा सुरु भएको हो।
अब दुई वटा बस (ना ६ ख ९५७९ र ना७ख ७२६७) नियमित रूपमा सञ्चालन हुनेछन्। बेसीसहरदेखि चामेसम्मको ६५ किलोमिटर दूरीको भाडा सात सय ४० रुपैयाँ तोकिएको छ।
पन्ध्र वर्षअघिदेखि मोटर चल्न थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमोजस्ता साना सवारीसाधनले मात्र यात्रु ओसारपसार गर्दै आएका थिए। सडक सात किलोमिटर कालोपत्र, १० किलोमिटर सडक ढलान र बाँकी ४७ किलोमिटर कच्ची रहेको छ।
वैशाख ८, २०८२ सोमबार ११:२७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।