जनप्रदर्शन गर्न पाउने हकमा प्रतिबन्ध नलगाउन सरकारलाई संयुक्त जनआन्दोलन समितिको चेतावनी

काठमाडौं : संयुक्त जनआन्दोलन समितिले सरकारले संविधानप्रदत्त प्रजातान्त्रिक हक, मानव अधिकार र नागरिक स्वतन्त्रताविरुद्ध शान्तिपूर्ण भेला, गोष्ठी र जनप्रदर्शनमा प्रतिबन्ध लगाएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
समितिले यस्ता असंवैधानिक कार्य तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त कदमलाई निरंकुश र निन्दनीय भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको संविधानप्रदत्त नैसर्गिक अधिकार हनन गर्ने सरकारको कार्य बर्खिलाप छ। यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिन्छौँ।’
समितले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय, संघसंस्था, सञ्चारजगत् र व्यक्तित्वहरूलाई यो मुद्दामा आवाज उठाउन आह्वान गरेको छ।
सरकारको कदमले प्रजातान्त्रिक मूल्य-मान्यता र मानव अधिकारको संरक्षणमा गम्भीर चुनौती खडा गरेको समितिको ठहर छ।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई संसदीय दलको कार्यालयमै बन्धक बनाइएकोमा पछि अध्यक्ष राजेन्द्र लिङ्देन पुगेपछि उनीहरूलाई बल्ल बाहिर निस्कन दिइएको थियो।
पछि लिङ्देन लगायतका नेताले सिंहदरबारभित्रै पम्प्लेट देखाएर प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई त्यहीबाट पक्राउ गरेको थियो।
वैशाख ८, २०८२ सोमबार १०:५४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।