कमजोर प्रचारका बीच प्रदर्शनको संघारमा ‘भुठान’ र ‘खेल’

कमजोर प्रचारका बीच प्रदर्शनको संघारमा ‘भुठान’ र ‘खेल’

काठमाडौं : गत वर्षको अन्त्यमा हलमा दुई एक्सन फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आए। दुवै फिल्मले सोचे अनुसारको व्यापार गर्न सकेनन्। हलमा दर्शक टिकाउने सबालमा ‘कर्मा’ पूर्णरूपमा असफल हुँदा ‘पिताम्बर’ भने केही हदसम्म सफलै देखियो।

वैशाखको पहिलो हप्ता नयाँ फिल्म प्रदर्शनमा नआउँदा ‘पिताम्बर’, ‘कर्मा’, ‘अञ्जिला’ लगायतका चलिरहेका फिल्मले केही फाइदा उठाउने मौका पाउँदा दर्शक नपाउँदा सबैको हालत उही नै देखियो।

कमजोर प्रचारप्रसारका माझ आगामी शुक्रबार (वैशाख १२)बाट ‘भुठान’ र ‘खेल’ फिल्म प्रदर्शनमा आउँदैछन्। प्रदर्शनको पाँच दिन बाँकी रहँदा पनि यी फिल्मका निर्माण टोलीले दर्शकमाझ पुग्न सकेका छैनन्।

‘भुठान’को फरक प्रचार शैली
भुटानी शरणार्थीको नेपालदेखि अमेरिकासम्मको यात्रालाई कथावस्तु बनाएको फिल्म ‘भुठान’ले आफ्नो प्रचारलाई फरक तरिकाले गरेको छ। निर्माण टोलीले चिया अड्डा, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको डबली जस्ता स्थानमा कविता वाचन र गायनमार्फत फिल्मको प्रचार गरेको छ। यद्यपि, यो शैली सीमित दर्शकमाझ मात्र केन्द्रित देखिन्छ।

शुक्रबार साँझ प्रज्ञा प्रतिष्ठानको डबलीमा अभिनेता हरिवंश आचार्यको उपस्थितिमा कवि नवराज पराजुलीले कविता वाचन गरियो। यसले मात्र दर्शकमाझ पुग्न प्रयाप्त नभएको निर्माता अविरल थापा स्वीकार्छन्।

उनले उकेरासँग भने, ‘हरिवंश आचार्यबाहेक अन्य कलाकार देश दौडाहामा उपलब्ध नहुँदा र फिल्म गम्भीर विषयमा आधारित भएकाले मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिएन। हामीले मूलधारका मिडिया र काठमाडौंमा पाँच हप्तासम्म भौतिक कार्यक्रममार्फत प्रचार गर्यौँ।’

फिल्ममा हरिवंशको साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय छ। विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ र अविरल थापा फिल्मका निर्माता हुन्।

केही दिनअघि निर्माता थापाले ‘फिल्मले पैसा नबाँड्ने भनेपछि युट्युबरवाला पत्रकार भन्नेहरू सम्पर्कमै नआउने रहेछन्। छन् गेडी क्यामेरा तेरी, छैनन् गेडी क्यामेरा टेडी’ भनेर स्टाटस लेखेपछि युट्युबरहरू फिल्मको निर्माण टोलीसँग रिसाएका छन्। यसले पनि फिल्मको प्रचारलाई केही नकारात्मक प्रभाव पारेको देखिन्छ।

‘खेल’को कमजोर प्रचार
यता, ‘खेल’को प्रचारप्रसार भने लगभग शून्यजस्तै छ। फिल्मको चर्चा नचल्दा दर्शकमा उत्साह देखिएको छैन। निर्माता लुईसराज महर्जनले प्रचारमा धेरै लगानी गर्नुभन्दा फिल्मको गुणस्तर र ‘वर्ड अफ माउथ’ले दर्शक तान्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘प्रचारमा पैसा खन्याउनु मात्र पर्याप्त हुँदैन। यदि दर्शकले फिल्म मन पराएनन् भने प्रचारको अर्थ रहँदैन। हाम्रो टिमले स्वाभाविक ढंगले सक्दो प्रचार गरेको छ।’

उनले नेपाली बजारमा महिला लिड अभिनय भएको फिल्मले कम प्राथमिकता पाउने चुनौती रहेको बताए। ‘खेल’मा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको अभिनय छ।

अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित यो फिल्मका निर्माता लुईसराज महर्जन र आशिषराज महर्जन हुन्।

नेपाली फिल्म उद्योगमा प्रचार शैली बदलिएको छ। पहिले गाउँघरका चोक र भित्तामा पोस्टर टाँगिन्थ्यो भने अहिले डिजिटल मिडिया र सामाजिक सञ्जाल प्रभावकारी बनेका छन्। ‘भुठान’ र ‘खेल’को कमजोर प्रचारलाई दर्शकले कसरी हेरेका छन्, त्यो भने शुक्रबारबाट हलमै देखिएला।

वैशाख ८, २०८२ सोमबार १०:३९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।