प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, अस्कल क्याम्पसका स्ववियु सचिव पक्राउ

काठमाडौं : नेपाल प्रहरीको जवान पदको परीक्षामा नक्कली परीक्षार्थीको रूपमा पक्राउ परेका गोपालबहादुर शाही काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु सचिव भएको खुलेको छ।
शाही चैत १० गते एमाले निकट अनेरास्ववियुको प्यानलबाट स्ववियु सचिवमा निर्वाचित भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराका अनुसार शाहीसहित ६ जनालाई नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहेको परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा शाही (कालीकोट), मोहन सुनुवार (दोलखा), मनोज शर्मा (सुर्खेत), आकाश खड्का (दैलेख), उमेश शर्मा (सुर्खेत) र मीन रावल (जुम्ला) छन्। प्रहरीले उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।
यसैबीच, शनिबार पोखराको लोकसेवा आयोग परीक्षा भवनमा आरतीकुमारी मण्डलको नाममा परीक्षा दिइरहेकी ज्ञानुता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख ८, २०८२ सोमबार ०९:३४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।