पाथीभरा बोलेरो आगलागीका मृतक र घाइतेको पहिचान

ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागीमा परेर मृत्यु भएका चार र घाइते दुई जना पहिचान भएको छ।
जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका-१० सेवारोचोकमा एक्कासी आगलागी भएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा जिल्ला ललितपुर महानगरपालिका-१० का १६ वर्षीया आध्या आचार्य रहेका छन्।
झापा भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१०, का ४२ वर्षीय दुर्गा भट्टराईको पनि उक्त दुर्घटनामा मृत्यु भएको हो।
त्यस्तै, ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य र उनका छोरा १० वर्षीय भविमय आचार्य घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
वैशाख ८, २०८२ सोमबार ०८:१८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।