रोहित र सूर्यकुमार चम्कँदा चेन्नईमाथि मुम्बईको शानदार जित

काठमाडौं : ब्याटरद्वय रोहित शर्मा र सूर्यकुमार यादव चम्कँदा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपरकिंग्सविरुद्ध मुम्बई इन्डियन्सले शानदार जित निकालेको छ।
मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७६ रन बनाउँदा मुम्बईले १७७ रनको लक्ष्य १५.४ ओभरमै पूरा गर्यो।
चेन्नईका लागि रविन्द्र जडेजाले नटआउट ५३ रनको अर्धशतकीय पारी खेल्दा शिवम दुबेले ३२ बलमा ५० रनको पारी खेलेर आउट भए। त्यसबाहेक आयुष महर्तेले ३२ रन जोड्दा साइक रसिदले १९ रन बनाए। धोनी ४ रनमा पेभेलियन फर्किए।
मुम्बईका जसप्रित बुमराहले दुई तथा दीपक चहर, अश्विनी कुमार र मिचेल स्यान्टनरले समान एक–एक विकेट लिए।
जवाफी लक्ष्यमा उत्रिएको मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले क्रमशः ७६ र ६८ रन बनाउँदा रियान रिकल्टन २४ रनमा आउट भए। सूर्यकुमारले ३० बलमा ६८ बनाउँदा रोहितले ४५ बलमा ७६ रन जोडेका थिए।
जितसँगै मुम्बई आठ खेलमा चारमा जित निकालेर आठ अंकसहित तालिकाको छैटौं स्थानमा छ। पराजित चेन्नई भने समान खेलमा दुईमा जित निकालेर चार अंकसहित दशौं स्थानमा छ।
त्यसअघि हिजै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब सुपर किंग्सलाई सात विकेटले हराएको थियो। पहिले ब्याटिङ गरेर पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएकोमा बैंग्लोरले सात बल बाँकी छँदै तीन विकेट गुमाएर लक्ष्य भेट्टायो।
जितसँगै बैंग्लोर तालिकाको तेस्रो स्थानमा उक्लँदा पञ्जाब चौथो स्थानमा छ।
वैशाख ८, २०८२ सोमबार ०७:५७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।