नेपालमा भारतीय अनलाइन जुवा गिरोहको जालो, रोजगारीको लालच, दुई अर्बको कारोबार

काठमाडौं : राजधानीको बुढानीलकण्ठस्थित एक भाडाको घरमा फेला परेका १२ भारतीय नागरिकको अनुसन्धानमा खेल सम्बन्धी अनलाइन जुवा खेलाउने भारतीय नागरिकहरूले नेपालबाट गिरोह नै चलाउने गरेको खुलेको छ।
पक्राउ परेका १२ जना भारतीय नागरिकको बयान र उनीहरूको डेराबाट बरामद भएका प्रमाणहरूको आधारमा जुवा खेलाउने गिरोहले रोजगारी दिने भनेर भारतीय नागरिकहरूलाई नेपालमा पठाएर डेरामा राखी विभिन्न जुवा खेलाउने साइटहरूमार्फत जुवा खेलाउन संलग्न गराउने गरेको खुलेको हो।
प्रहरीले फेला पारेको विवरणमा पक्राउ परेका गिरोहले नेपालमा बसेर २ अर्ब बराबरको जुवा खेलाएको खुलेको छ। प्रहरीले उनीहरूबाट ९६ लाख बराबरको क्रिप्टो करेन्सी समेत बरामद गरेको छ।
नेपालमा सहयोगी मुख्य नाइके भारतमै
प्रहरीको एक टोलीले २०७८ चैत १२ साँझमा बुढानीलकण्ठ–३ देउला टोलमा रहेको एक घरमा छापा मारेको थियो। सो घरमा १२ जना भारतीय नागरिकहरू भाडामा बस्ने गरेका थिए। उनीहरूको साथबाट मोबाइल, ल्यापटप, विभिन्न कम्पनीको भारतीय सिम कार्ड, विभिन्न भारतीय बैंकको चेक र हिसाब विवरण राखेका कपीहरू बरामद गरेको थियो।
पक्राउ परेकाहरूको बयान र उनीहरूको ह्वाट्एपको संवादका आधारमा भारतमा रहेका डेभिड नामका व्यक्तिले उनीहरूलाई महिनाको ३० हजार भारतीय रुपैयाँ पारिश्रमिक दिनेगरि अनलाइन जुवा खेलाउन नेपाल पठाएको खुलेको थियो।
‘म भारतमा कलर पेन्टको काम गर्थेँ,’ काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा समावेश बयानमा पक्राउ परेका राकेश डाडैयाले भनेका छन्, ‘डेभिड नामको व्यक्तिले जुवा खेलाउने काम छ, तलब पनि राम्रो छ भनेपछि म नेपाल आएँ’ त्यस्तै अर्का पक्राउ परेका रमसिंह खात भन्छन्, “म कपडा पसलमा काम गर्थेँ। कम तलब थियो। नेपालमा राम्रो कमाइ हुने भनेपछि आएँ।’
पक्राउ परेका अन्यहरूको बयान पनि राकेशको जस्तै नै छ। अधिकांशले डेभिडसँग अनलाइनमै चिनजान भएको र उनले भने अनुसार स्थल मार्गबाट काठमाडौँ आएर उनले भने अनुसार काम गर्ने गरेको खुलाएका छन्।
अनलाइन जुवा सञ्चालनको शैली
पक्राउ परेका भारतीय नागरिकहरू सामान्य काममा संलग्न देखिन्छन्। उनीहरूको बयान अनुसार अधिकांश व्यक्तिहरू भारतमा कलर पेन्ट, कपडा पसल, बाइक मिस्त्री, कल सेन्टर लगायतमा काम गर्दै आएका थिए। उनीहरू सामान्य आम्दानी गर्दै आएका थिए। ह्वाट्सएपमा भेटिएका डेबिड नामका व्यक्तिले नेपालमा गएर काम गर्दा सजिलो हुने र मासिक २५ देखि ३० हजार भारतीय रुपैयाँ तलब पाउने आश्वासन दिएपछि उनीहरू नेपाल आएको बयानबाट देखिन्छ।
पक्राउ परेका सबै १२ जना भारतीय नागरिकहरू राजस्थानका विभिन्न ठाउँका छन्। अधिकांश जयपुर र मशक्करका रहेका छन्। केही अलबर र सिकरका समेत छन्।
पक्राउ परेकाहरूले ‘99exch.com’, ‘betbhai9.com’, ‘rajveerexch247.com’, ‘x11xplay.com’, ‘xlaser247.com’ र ‘100panel.com’ जस्ता अनलाइन सट्टाबाजी साइटको माध्यमबाट अनलाइन जुवा खेलाउने गरेका थिए।
यी साइटहरू क्यासिनो गेम, फुटबल र क्रिकेट खेलमा बाजी लगाउन प्रयोग गरिन्छ। जुवा खेल्न चाहनेहरूसँग सम्पर्क गर्न उनीहरूले फेसबुक, इन्स्टाग्राम र टेलिग्राममा विज्ञापन गर्ने गरेका थिए। उनीहरू सम्पर्कमा आएपछि इन्ट्राग्रामबाट संवाद गरेर जुवा खेल्न प्रेरित गर्ने, जुवा खेलाउने साइटमा खाता खोलिदिने, उनीहरूबाट रकम लिएर सो साइटमा क्वाइन राखिदिने काम गर्ने गरेको देखिन्छ।
एक पोइन्ट बराबर एक भारु कायम गरेर अनलाइन बाजी लगाउन लगाउने र बाजी राखे अनुसार हारजित भएको रकम आदान प्रदान गर्ने गरेको अभियोग पत्रमा राखिएको विवरणहरूमा देखिन्छ। उनीहरूले सो रकम भारतीय बैंक खाता र क्रिप्टो करेन्सीबाट मुख्य व्यक्तिहरूलाई बुझाउने गरेका थिए।
क्रिप्टो प्रयोग गरेर कारोबार
उनीहरूले प्रारम्भमा भारतीय बैंक खातामार्फत कारोबार गर्ने गरेको देखिन्छ। तर बैंकहरूले शंका गर्न थालेपछि उनीहरूले कारोबारका लागि क्रिप्टो करेन्सीको प्रयोग गर्ने गरेका थिए। त्यसका लागि उनीहरूले Tronscan, Binance र Trust Wallet जस्ता वालेटबाट USDT (Tether) प्रयोग गर्ने गरेका थिए।
प्रहरीका अनुसार उनीहरूले हालसम्म.९६ लाख ३३ हजार बराबरको USDT को कारोबार गरेको विवरण नै फेला परेको छ। कोठामा फेला परेका नोटबुकमा उल्लेख गरिएको कारोबार रकम अनुसार कारोबार २ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी देखिन्छ।
कमजोरीको फाइदा उठाउँदै नेपालमा गिरोहको विस्तार
नेपालमा सबै प्रकारका जुवा अवैध भए पनि पछिल्लो समय अनलाइनमा आधारित जुवाको प्रभाव बढ्दो छ। नेपालका खेलकुद गतिविधी गर्ने क्रिकेट एसोसिएसन अफ नेपाल, अखिल नेपाल फुटबल संघ जस्ता निकायका अधिकारीहरु समेत अनलाइन जुवाको प्रवर्धनमा संलग्न देखिन्छन्। तर नियन्त्रण भने हुन सकेको छैन।
हालै सम्पन्न नेपाल प्रिमियर लिगमा समेत अनलाइन जुवा खेलाउने कम्पनीको सेरोगेट कम्पनीको विज्ञापन राखिएको थियो। यसबारे आयोजक समितीका प्रमुख क्यान सचिव पारस खड्का अनुसन्धानको दायरामा तानिएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले समिती बनाएर छानबिन शुरु गरेको थियो।
नेपालको कमजोर साइबर कानुन, सीमित प्रहरी स्रोत र खुला सीमाको फाइदा उठाउँदै भारतका गिरोहका सदस्यहरूले नेपालमा अनलाइन जुवाको जालो फैलाइरहेको देखिन्छ। यो घटनामा डेभिड नाम खुलेको छ। यस अगाडि पक्राउ परेका भारतीय नागरिकहरूबाट अलगअलग भारतीय नागरिकको नाम खुले पनि मुख्य कारोबारी भने पक्राउ परेका छैनन्।
पक्राउ परेकाहरूले बयान बस्ने भाडाको घर पनि उतै भारतबाटै मिलाउने गरेको र मास्टर आइडीहरू समेत भारतमा रहेकाहरूसँगै हुने देखिन्छ।
वैशाख ८, २०८२ सोमबार ००:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।