क्यान्सरको फलोअपमा जान हाजिर जमानीमा छुटे राप्रपा महामन्त्री धवल

क्यान्सरको फलोअपमा जान हाजिर जमानीमा छुटे राप्रपा महामन्त्री धवल
फायल तस्बिर

काठमाडौं : तीनकुनेमा चैत १५ को हिंसात्मक प्रदर्शनको आयोजना गरेको आरोपमा पक्राउ परेका सांसद धवल शमशेर राणा क्यान्सरको फलोअपमा जान हाजिर जमानीमा प्रहरी हिरासतमुक्त भएका छन्। भारतमा क्यान्सरको उपचार गरेर फर्किएका उनी फलोअपमा जानुपर्ने भन्दै रिहा गर्न उनी संलग्न पार्टी  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको थियो।

राप्रपाका महामन्त्री समेत रहेका उनी राजा फर्काउने भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित समितिमा संलग्न भएका थिए। समितिले तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन हिंसात्मक भएपछि आयोजक समितिको पदाधिकारीको हैसियतमा उनलाई प्रहरीले चैत १५ मै पक्राउ गरेको थियो। राज्यविरुद्ध र सङ्गठित अपराधको आरोपमा प्रहरी हिरासतमा रहेका उनको क्यान्सर भएको ठाउँमा मासु पलाएपछि उपचारमा जान प्रहरीले आइतबार बेलुका परिवारको जिम्मा हाजिर जमानीमा मुक्त गरेको हो।  

पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका रवीन्द्र मिश्र भने प्रहरी हिरासतमै छन्। उनीमाथि पनि प्रदर्शनलाई हिंसात्मक हुन भड्काएको आरोप छ। राप्रपाले धवल र मिश्रको रिहाइको माग गर्दै आइतकार बिजुलीबजार क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। 

वैशाख ७, २०८२ आइतबार २३:२९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।