प्रहरी जवानको नक्कली परीक्षार्थीको आरोपमा समातिएकामध्ये एक अस्कलका स्ववियू सचिव

प्रहरी जवानको नक्कली परीक्षार्थीको आरोपमा समातिएकामध्ये एक अस्कलका स्ववियू सचिव

काठमाडौं : प्रहरी जवानको नक्कली परीक्षार्थीको आरोपमा पक्राउ परेकामध्ये एक अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु सचिव रहेको खुलेको छ। प्रहरीले शनिवारको परीक्षामा सहभागी भएकामध्ये ६ जनालाई अर्काको प्रवेश परीक्षामा आफ्नो तस्बिर टाँसेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरे अनुसार सो आरोपमा  मोहन सुनुवार, गोपाल शाही, मनोज शर्मा, आकाश खड्का, उमेश शर्मा र मीन रावल  गोपालबहादुर शाही पक्राउ परेका छन्। यीमध्ये शाही अस्कलको स्ववियु सचिव रहेको खुलेको छ। हालै भएको स्ववियु निर्वाचनमा उनी एमाले निकट अनेरास्ववियुबाट सचिवको उम्मेदवार बनेका थिए। क्याम्पसमा स्ववियुको प्यानलले नै जितेको थियो।

नेपाल प्रहरीले सङ्गठनमा रिक्त रहेको प्रहरी जवानको खुल्ला भर्नाका लागि हालै आवेदन मागेको थियो। आवेदकहरूमध्ये नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा भइरहेको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थीको आरोपमा पक्राउ परेका थिए। उनीहरुविरुद्ध प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति समेत पाइसकेको छ।

प्रहरीको आपराधिक रेकर्डमा शाही पटक-पटक विभिन्न अपराधमा संलग्न रहेको रेकर्ड समेत फेला परेको छ।

वैशाख ७, २०८२ आइतबार २१:३९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।