बिजुलीबजारमा देखिएको राप्रपाको प्रदर्शन : शैली शान्तिपूर्ण, सहभागी संख्या टिठ लाग्दो

बिजुलीबजारमा देखिएको राप्रपाको प्रदर्शन : शैली शान्तिपूर्ण, सहभागी संख्या टिठ लाग्दो
न्युन संख्यामा रहेका प्रदर्शनकारीहरु। तस्विर : दिपेश श्रेष्ठ

काठमाडौं : तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेता छुटाउन दबाब बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको विरोध प्रदर्शन शान्तिपूर्ण भयो।

आन्दोलन अगाडि पूर्व राजा ज्ञानेन्द्र शाहको ‘ढुंगा हैन फूल दिनु’ भन्ने निर्देशनको प्रभावले हुनसक्छ, निषेधित क्षेत्र तोड्ने उद्घोषसहित आयोजित आन्दोलन तीनकुने-बिजुलीबजार क्षेत्रको आवागमन अवरुद्ध गर्न सफल भयो।

त्यस्तै दुई-तीन सयको सङ्ख्यामा रहेका प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न ह्युमन (सुरक्षाकर्मी लाइन लागेर उभिएको) ब्यारिकेट पार गरेर नयाँबानेश्वरतिरको फलामे ब्यारिकेट ताकेर गए पनि प्रहरीको माइकिङपछि पछि हटे। नाराबाजी गरेर आन्दोलन सक्काए।

शीर्ष नेताहरूले निषेधित क्षेत्र तोड्न अपनाएको चलाखीका कारण उनीहरू आन्दोलन स्थलमा आउनै परेन। पार्टीको सिंहदरबारभित्र रहेको संसदीय दलको कार्यालयमा नाराहरू प्रिन्ट गरेर गोजीमा राखेर ‘प्रदर्शनस्थल जान’ भन्दै निस्किएका राजेन्द्र लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै नारा प्रिन्ट भएका कागज गोजीबाट निकाले।

प्रहरीले थुतेर फ्याँक्यो। उनीहरूले नारा लगाए। अनि प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा राख्यो। साँझ परेपछि नियन्त्रणमा रहेका सातै जना नेताहरू नियन्त्रणमुक्त भए।

नेताहरूको ‘नाक’ पनि जोगियो। उनीहरूले निषेधित क्षेत्र तोड्ने भनेर दिएको चेतावनी पनि हिंसा रहित रूपमा पुरा भयो।

आतङ्क र हिंसा मच्चाउन राप्रपाको विरोध प्रदर्शनमा सहभागी संख्या पर्याप्त नै हो। तर उनीहरू संयमित देखिए। यो मानेमा राप्रपाले राजनीतिक चरित्र देखाउँदै विरोध प्रदर्शन गर्यो।

तर वरपरको वातावरण र सहभागीको सङ्ख्याका आधारमा हेर्ने हो भने कमजोर देखियो आन्दोलन। राप्रपाको विरोध प्रदर्शनमा देखिने प्रौढ अनुहारको निकै कम देखिएको थियो आइतबार।

तीनकुनेमा भएको विरोध प्रदर्शन हिंसात्मक हुँदा वरिपरिका निजी घरहरू तोडफोड भएको थियो। प्रदर्शनकारीहरूले एक निजी घरमा लगाएको आगोमा परेर एक पत्रकारले ज्यानै गुमाए। प्रहरीको गोली लागेर एक प्रदर्शनकारी मारिए।

बिजुलीबजार क्षेत्रमा बन्द भएका सटरहरु।प्रदर्शनकारीहरू त्यतिमै रोकिएनन्, उनीहरूले भाटभटेनीमा हमला बोलेर लुटपाट मच्चाएका थिए।

तीनकुनेको आयोजक र आज आइतबार बिजुलीबजारको आयोजक फरक थिए। तर चैत १५ को तीनकुनेमा भएको प्रदर्शनको प्रभाव आइतबार बिजुलीबजारमा देखियो।

तोडफोड र लुटपाटको आशङ्काले हुनसक्छ। सो क्षेत्रका व्यापारिक केन्द्र, पसल अनि रेस्टुरेन्ट पुरै बन्द थियो। प्रदर्शनकारीले कतै लुट्छन् कि भन्ने डर सो क्षेत्रका व्यवसायीहरूको मनमा कतिसम्म गढेको रहेछ भन्ने सो दृश्यले देखायो नै।

राजावादीहरूको विरोध प्रदर्शनमा त लुटपाट हुन्छ भन्ने सन्देश गएको देखायो त्यो दृश्यले। यस अगाडि बल्खुमा भएको प्रदर्शन पनि शान्तिपूर्ण भएको थियो।

बिजुलीबजारमा भएको आन्दोलनका सहभागी भन्दा धेरै थिए बल्खुमा। त्यहाँको विरोध प्रदर्शनमा पनि यसरी नै वरपरका पसलहरूको सटर लागेका थिए।

राप्रपाले निषेधित क्षेत्र तोड्ने घोषणा गरिरहँदा शनिवार बिदाको दिनमा गृह प्रवक्ताको डिजिटल हस्ताक्षर प्रयोग गरेर भए पनि गृह मन्त्रालयले कानुन विपरीत काम नगर्न चेतावनी सन्देश जारी गरेको थियो।

निशेधित क्षेत्रमा प्रवेश रोक्न बनाएको सुरक्षा ब्यारिकेट।यता विरोध प्रदर्शनस्थलका व्यापारीको मनमा लुट्लान् कि भन्ने भय मनमा गढे जस्तै प्रदर्शनमा सहभागी हुनेहरूको मनमा गोली चल्ला कि भन्ने भयले बास गरेर पनि प्रदर्शनकारीहरूको संख्या कम भएको हुनसक्छ।

सुरक्षाकर्मीहरूको परिचालन शैली पनि उस्तै थियो। तीनकुनेको प्रदर्शनमा प्रदर्शनकारीहरूले भनेको आधारमा पत्याउँदा वितण्डा मच्चिदा पनि सुरक्षा प्रबन्ध गर्न सुरक्षा संगठन असफल भएको थियो।

सायद त्यही घटनाबाट पाठ सिकेर हुनसक्छ आइतबार विरोध प्रदर्शनस्थलसँगै वरपरको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो सुरक्षा घेरामा राखेका थिए। पैदलयात्रीमाथि समेत निगरानी थियो नै। यात्रुको रूपमा प्रदर्शनकारी आउलान् भनेर सिंहदरबार बाहिरको सडक क्षेत्रलाई पुरै निषेधित क्षेत्र समान सुनसान बनाइएको थियो।

वैशाख ७, २०८२ आइतबार २०:१०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।