नेपालमा हिउँ चितुवाको सङ्ख्या ३ सय ९७ पुग्यो

नेपालमा हिउँ चितुवाको सङ्ख्या ३ सय ९७ पुग्यो

काठमाडौं :  नेपालमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या ३ सय ९७ पुगेको छ। हिउँ चितुवा प्रति १०० वर्ग किलोमिटरमा औसत घनत्व १.५६ रहेको राष्ट्रिय अनुमान सार्वजनिक गरिएको हो।

वन तथा वातावरण मन्त्रालय अन्तगर्तको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा विश्व वन्यजन्तु कोष नेपाललगायत संस्थाको सहयोगमा मूल्याङ्कन गरिएको थियो। 

वन्यजन्तु सप्ताहको समापन कार्यक्रममा आज काठमाडौंमा अयोजित कार्यक्रममा सार्वजनिक गरिएको सङ्ख्याले नेपालभर हिउँ चितुवा र तिनीहरूको बासस्थानको स्थितिबारे महत्वपूर्ण जानकारी प्रदान गर्ने बताइएको छ।

क्यामेरा ट्र्याप, दिशाको आनुवंशिक परीक्षणलगायत प्रविधिको प्रयोग गरी सन् २०१५ देखि २०२४ सम्मको अध्ययनमा समेटिएको छ।

निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले यो उपलब्धि नेपालको संरक्षण यात्राको ऐतिहासिक कदम भएको बताए।

भूसंरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले संरक्षित क्षेत्रबाहिरका बासस्थानलाई पनि लक्षित गर्नुपर्ने आवश्यकता रहेको बताए।

यस पहलले हिउँ चितुवाको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक अनुसन्धान, सामुदायिक सहभागिता र अन्तर्राष्ट्रिय सहकार्यको महत्वलाई जोड दिएको छ।

वैशाख ७, २०८२ आइतबार २०:०४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।