असिना पानीले पाँच करोडको ईंट्टा नष्ट

रौतहट : रौतहटमा वर्षाका कारण पोल्नको लागि तयार पारिएको ठूलो परिणामको ईंट्टामा क्षति पुगेको छ।
वर्षैभरी बेच्नका लागि तयार भइरहेको ईंट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि ईंट्टा व्यवसायीहरू आर्थिक समस्यामा परेका हुन्। वर्षाका कारण पाँच करोड भन्दा बढीको क्षति भएको बताइएको छ।
हावाहुरी र असिना सहितको पानीले गर्दा आफ्नो ईंट्टा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको ईंट्टा भिजेर नष्ट भएको वृन्दावन नगरपालिका ३ स्थित कृष्णा ईंट्टा उद्योगका सञ्चालक प्रेम शंकर यादवले बताए।
उनले मजदुरहरूले बनाएर राखेको ईंट्टाहरू बेमौसमी परेको पानीले भिजेर पूर्ण रुपमा नष्ट भएको बताए। अहिले ईंट्टा नष्ट भएसँगै कोइला पनि पाउन मुस्किल भएको उनको गुनासो छ। प्रत्येक वर्ष हिउँदे वर्षाका कारण ईंट्टामा क्षति पुग्ने गरेको व्यवसायीहरू बताउँछन्।
रौतहट ईंट्टा उद्योग व्यवसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा ईंट्टा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए। उनका अनुसार विविध कारण ईंट्टा उद्योग बन्द भएको अवस्थामा वर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो।
ईंट्टा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। रौतहट जिल्लामा यस आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका लगभग ४२ वटा ईंट्टाभट्टाहरू सञ्चालनमा रहेका संघले जनाएको छ।
वैशाख ७, २०८२ आइतबार १९:३५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।