सांसद उर्मिला थेबेको प्रसव पीडा र खुसी : गर्भवती छु, केहीबेर आराम गर्छु भनेर बस्न पनि लाज लाग्ने विषय हुन्थ्यो

सांसद उर्मिला थेबेको प्रसव पीडा र खुसी : गर्भवती छु, केहीबेर आराम गर्छु भनेर बस्न पनि लाज लाग्ने विषय हुन्थ्यो

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित सांसद उर्मिला थेबे आजकाल संसदका गतिविधिमा निकै सक्रिय देखिन्छिन्। मन्त्रालयका बैठकहरूदेखि जिल्लाका स्थानीय नेताहरूसँगको समन्वयसम्म, उनको समय राजनीतिक व्यस्ततामै बितिरहेको छ। यति मात्र होइन, उनी शिक्षा तथा स्वास्थ्य समितिको सक्रिय सदस्य पनि हुन्।

पूर्वी नेपालको पाँचथरको एक विकट गाउँमा जन्मिएकी उर्मिलाको परिवार पनि राजनीति पृष्ठभूमिकै हो। सिङ्गो परिवार राजनीतिमा सक्रिय हुँदा उनी पनि स्वाभाविक रूपमा यस क्षेत्रमा होमिइन्। यद्यपि, घर–परिवारको दायित्व सम्हाल्दै राजनीतिक यात्रा अघि बढाउनु भने सजिलो थिएन।

पञ्चायत कालमा भूमिगत राजनीति शुरू गरेकी उनले वडाध्यक्ष हुँदै संसदको यात्रा तय गरिन्। अहिले संसद्मा पुगेपछि, उनी भन्छिन्, “पहिले विकास निर्माणकै काम ठुलो लाग्थ्यो, तर संसदमा पुगेपछि नीति निर्माण कति महत्वपूर्ण रहेछ भन्ने अझ गहिरो बुझेँ।” यद्यपि, नीति त बनाइन्छ, तर अपेक्षित समयमा काम नहुँदा जिल्लाबाट आउने गुनासोहरूले उनलाई कहिलेकाहीँ नरमाइलो महसुस गराउँछ।

उनी भन्छिन्, “मन र मस्तिष्कले जिल्लाको लागि धेरै कुरा सोचिन्छ, तर जब त्यसलाई व्यवहारमा उतार्नुपर्छ, त्यतिबेला थुप्रै चुनौती आउँछ। त्यसैले अबको बाँकी जीवन पनि सामाजिक कार्यमै समर्पित गर्ने चाहना छ।”

चार सन्तानकी आमा उर्मिलाले राजनीतिमा लाग्ने क्रममा मातृत्वका कठिन क्षणहरू पनि पार गरिन्। भूमिगत अवस्थामा बस्दै गर्भवती हुनुले उनलाई मानसिक र शारीरिक रूपमा निकै चुनौती दिएको थियो। त्यो समयमा साना बच्चाहरूको हेरचाह गर्नु, सुरक्षित रहनु, अनि आन्दोलनमा निरन्तर लागिरहनु सजिलो थिएन।

उनै उर्मिलाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :

OOO

मेरो माइती र घर दुवै पक्षमा राजनीतिकर्मीहरूको बाक्लो जमात थियो। हाम्रो पाँच जना आमाबाट ११ भाइ र ११ बहिनी थियौं। म साइँली आमाबाट तेस्रो सन्तान हुँ। 

घर-परिवारमै राजनीति गर्नेहरू भएपछि झन् बढी चासो हुने रहेछ। राजनीतिक चेतना भएकै कारण घरमा मेरो पढाइको माहोल राम्रै भयो। मेरा माइतीहरू २०१८ सालमा राजनीति गरेको आरोपमा पक्राउ समेत परेका थिए। पञ्चायतकालमा राजारानीले हाम्रो ठाउँ मासेर फूलबारी बनाउने योजना ल्याएको थियो। मेरा बुबाहरूले त्यतिबेलै देखि आफ्नो अधिकारका लागि संघर्ष गर्नुभएको थियो। त्यसैले मलाई पनि राजनीति प्रतिरोधको प्रतीक जस्तो लाग्यो, र यही कारणले मलाई पनि मन पर्यो ।

मैले १२ कक्षासम्म पढेँ। त्यसबेला घरको काम, खेतबारीको काममै व्यस्त हुनुपर्ने, बाहिरी काम गर्ने फुर्सदै हुँदैनथ्यो। पञ्चायतकालमा त 'राजनीति' भन्नासाथ राजद्रोहको मुद्दा लाग्ने डरले लुकीछिपी राजनीति गर्नुपर्थ्यो। त्यसैले मैले लामो समय प्रत्यक्ष राजनीति गर्न सकिँन।

१८ वर्षको उमेरमा विवाह हुँदा 'नाइँ' भन्ने अवस्थै थिएन। मैले श्रीमानलाई बिहे अघि देखेकी थिइँन, उहाँले पनि मलाई देख्नुभएको थिएन। बिहे भएपछि बुहारी पनि भइयो। घरधन्दा, परिवार सम्हाल्ने, अनि राजनीतिक वातावरण बनाउनुपर्ने हुँदा जीवन अलिक गाह्रो भयो। त्यसपछि मेरो आफ्नै चार सन्तान भए। अनि जेठाजुहरूको सन्तान पनि मैले हेर्नुपर्ने हुन्थ्यो।

मेरो पहिलो सन्तान २१ वर्षको उमेरमा भयो होला। जेठी छोरी जन्मिएकी थिइन्। ताप्लेजुङको विकट ठाउँमा जन्मिएकी म, त्यसबेला बच्चा पाउने के योजना बनाउनु, के नबनाउनु। सबै प्राकृतिक रूपमा नै भयो। म खुसी थिएँ।

एक पटक पनि अस्पताल जान पाइँन। गाउँमा अस्पताल थिएन। एउटा हेल्थ पोस्ट थियो, तर सामान्य सिटामोल पनि पाउन गाह्रो। चारजना सन्तान जन्माउँदासम्म पनि मैले कहिल्यै डाक्टर देख्न पाइँन। सबैलाई घरमै जन्माएँ। त्यो बेलामा गाउँका अधिकांश महिलाहरूले पनि त्यही गर्नुपर्थ्यो। फिदिमसम्मको सडक पनि मेरो बिहे भएको पाँच वर्षपछि मात्रै बन्यो। ताप्लेजुङसम्म सडक पुगेको त अझ पछि हो।

ठूलो परिवार थियो। गर्भवती हुँदा आराम भन्ने के हो भन्ने थाहा थिएन। बच्चा कहिले जन्मिन्छ भन्ने थाहा नै नहुने। एक्कासि पेट दुख्न थाल्थ्यो, अनि वरपरका महिलाहरूको सहयोगमा सुत्केरी हुने। आफू जतिसुकै कमजोर भए पनि काम नगरी बस्न मिल्दैनथ्यो। पाँच पाथी धान ढिकीमा कुट्नुपर्ने, १५-२० गाग्री पानी बोक्नुपर्ने, घरबारीको काम पनि हेर्नै पर्ने।

गर्भवती कहिले भएको? बच्चा कहिले जन्मन्छ? केही अत्तोपत्तो नहुने। बेलाबेलामा कमजोरी महसुस हुन्थ्यो, वान्ता हुन्थ्यो। तर पछि फेरि काम गर्नै पर्थ्यो। भान्छामा जे हुन्थ्यो त्यही खाने हो। फलफूल पनि बारीमा जे फल्थ्यो त्यही। गाउँमा एउटा मात्र पसल थियो, त्यहाँ पनि के नै पाइन्थ्यो र। अमिलो, गुलियो, पिरो भनेको के हो भन्ने पछि बजार गएपछिमात्र थाहा पाइयो।

'म गर्भवती छु, म केहीबेर आराम गर्छु' भनेर बस्न पनि लाज लाग्ने विषय हुन्थ्यो। स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने चेतना थिएन। प्रसव पीडा शुरू हुँदा साथीहरूले सघाउने हो, केहीबेरमै बच्चा जन्मिन्थ्यो। तीन दिनसम्म अरूले भात दिन्थे, तर २१ दिनसम्म सुत्केरीले छोएको खाना घरमा अरूले खाँदैनथे। त्यसबीचमा आफूले आफै खाना बनाउने, कपडा धुने हो । २२ दिनपछि फेरि आफ्ना सबै काम आफै गर्ने हो।

अरूले पहिलो सन्तान हेर्दा माया लाग्दैन भन्थ्यो। तर मलाई त छोरी देख्दा साह्रै माया लागेर आयो। आफ्नो सन्तान एकदम राम्रो लाग्ने रहेछ। जेठी छोरी भएको तीन वर्षपछि अर्को छोरी, फेरि तीन वर्षपछि छोरा, अनि १८ महिनापछि अर्को छोरा। चार सन्तान। सबै प्राकृतिक रूपमा नै भयो। उमेरको अन्तर, औषधि, परिवार नियोजन- केही पनि थाहा थिएन। आफ्नो सुत्केरी स्याहार पनि आफै गरेँ।

माइती घर पाँचथर निकै टाढा थियो। जान चार दिन लाग्थ्यो। बाटोमा बच्चा बोक्ने, खाना पकाउने झन्झट। त्यसैले जान सकिँन। छोरी जन्मिएपछि मात्र आमालाई चिठी लेखेर खबर गरें। एक वर्षपछि बल्ल आमासँग भेट भयो। त्यसपछि दश वर्षभित्र आमालाई जम्मा दुई-तीनपटक मात्र भेट्न पाए। 'छोरी मान्छे भएपछि गाह्रो पो रैछ हौ' भन्ने त्यतिबेला लागेको थियो ।

सासुले पनि माया गर्नुहुन्थ्यो। तर सुत्केरी हुँदा आमालाई धेरै सम्झिएको थिएँ। सासु ससुरा पनि पाका। सासुले ४१ वर्षमा मेरो श्रीमान जन्माउनु भएको रहेछ, ६० वर्ष हुँदा हाम्रो बिहे भयो। उहाँहरूलाई पनि स्याहार गर्नुपर्थ्यो। घरको सबै बालबच्चा हेर्नुपर्ने। उहाँहरूको राजनीतिमा पनि सक्दो सहयोग गरेँ।

ससुरा प्रधानपञ्च, श्रीमान् युवा संघका अध्यक्ष हुँदै गाविस अध्यक्ष। भूमिगत राजनीतिमा लाग्दा प्रहरी रातभर घर घेर्थ्यो। दिनभर काम, रातभर डर। २०७० सालमा श्रीमान् संविधानसभाका सदस्य। सभापतिदेखि मन्त्रीसम्म घरमै हुन्थे। सबैलाई सहयोग गर्दा आफ्नै राजनीति अघि बढाउन सजिलो भएन।

परिवारमा अरूले गर्छन् भनेर राजनीति गर्न खोज्दा सकिँदैन रहेछ। अहिले म सजिलै बोलिरहेकी छु, तर त्यसबेला मैले कसरी गरेँ होला भनेर सम्झँदा अचम्म लाग्छ।

ठूलो सन्तानबाहेक तीन जना भूमिगत अवस्थामा जन्मिएका हुन्। कान्छी छोरी गर्भमा हुँदा श्रीमान पक्राउ पर्नुभयो। घरमा राजनीति गर्न लुक्नुपर्थ्यो। बच्चाहरूलाई 'तिमीहरू चुप लागेर बस, केही नभन' भन्थेँ। उनीहरू पनि बुझ्थे। राति चाँडै सुताउँथे।

प्रहरी बाहिरै हुन्थ्यो। नानीहरू तर्सन्थे। ‘हामीलाई विरोधी भन्छन् सहज छैन भनेर सम्झाउँथे। उनीहरू शान्त हुन्थे। म बाख्रा चराउन, घाँस काट्न निस्किएजस्तो गरेर पार्टी मिटिङमा जान्थेँ।

अहिले जेठी छोरी आफै पढ्दै, आफ्ना सन्तान पढाउँदैछिन्। कान्छी छोरी बेलायतमा छिन्। जेठो छोरा सिंगापुरमा, कान्छो छोरा यहाँ युवा संघ अध्यक्ष छ। सबै फरक स्वभावका छन्, तर समाजका लागि केही गर्नुपर्छ भन्ने भावना छ।

सन्तानप्रति माया नहुने आमा को होला र? राजनीति, काम जे भए पनि उनीहरू भोकै छन् कि भन्ने चिन्ता त लाग्छ नै। श्रीमती हुनु र आमा हुनुमा आकाश-पातालको फरक रहेछ। आफू आमा भएपछि माया पनि दोब्बर भयो ।

अब सम्झिँदा लाग्छ, गाउँको कुनामा जन्माएर हुर्काए। माया गरेर हुर्काए। छिट्टै काठमाडौं पनि ल्याए। तर अझै पनि सोच्दा लाग्छ, त्यति राम्रो शिक्षा दिन सकिन कि। उनीहरूले जन्मजात राम्रो स्कुल पाउन सकेनन्। तर गाउँ घरको भोगाइ त बुझाए जस्तो लाग्छ।

दूध खुवाउने फुर्सद नपाएको सम्झिँदा भक्कानो छुट्छ अहिले पनि। उनीहरूसँग कहिल्यै यी कुरा बाँडेकी छैन। सन्तान सञ्चो नभए पनि काखमा राख्न फुर्सद थिएन। खाने लाउने अभाव थिएन, तर समय कहिल्यै पुग्दैनथ्यो।

अहिलेका बच्चाहरूलाई हाम्रो जस्तो दुख गर्न पर्दैन भन्ने आशा लाग्छ। हाम्रो पालामा माइतीको इज्जत, ससुरालीको इज्जत भन्ने हुन्थ्यो। बुहारीले घरको मान राख्नैपर्छ भन्ने सोच हुन्थ्यो।

श्रीमान कान्छा छोरा-खानदानी परिवारको हुँ भन्ने पनि हुने रहेछ। दुःख कम गर्न खोज्ने। अब त म पनि पाको भएँ, रोगी भए। पहिले क्षमताले सक्दो गरेँ, अब पनि सकिएसम्म काम गर्न चाहन्छु। सबै खुसी हुने काम गर्न सकूँ भन्ने चाहना छ। फुर्सद पाए केही पुस्तक लेख्ने सोच पनि छ।

प्रसव पीडाका यसअघिका सामग्री 
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

वैशाख ७, २०८२ आइतबार १८:०५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।