वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ, नौ बैंकको नाफा घट्यो

वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ, नौ बैंकको नाफा घट्यो

काठमाडौं : वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब नाफा कमाएका हुन्। गत आर्थिक वर्षको यसै अवधिमा उनीहरूको नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो।

एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा १.४० प्रतिशत बढेको छ। २० वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटा बैंकको नाफा घटेको छ।

नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ रहेको थियो। तर वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै २१ गुणा नाफा बढाएको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चैत मसान्तसम्म ४ अर्ब ५४ करोड नाफा गरेको छ। गत आर्थिक वर्षमा यस बैंकले ३ अर्ब २७ करोड ५२ लाख नाफा गरेको थियो। ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड ४० लाख नाफा गरेको छ। गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख नाफा गरेको थियो।

एभरेस्ट बैंकले ३ अर्ब ४५ करोड नाफा गरेको छ। गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६० करोड ८४ लाख नाफा आर्जन गरेको थियो। एनएमबि बैंकले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ। गत आवमा २ अर्ब २४ करोड १५ लाख रुपैयाँ नाफा गरेको थियो।

प्रभु बैंकले १ अर्ब ८७ करोड ६० लाख नाफा गरेको छ। गत आवमा नाफा १ अर्ब ८१ करोड २४ लाख थियो। सानिमा बैंकले १ अर्ब ६५ करोड २४ लाख नाफा गरेको छ। लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड २१ लाख नाफा गरेको छ। नेपाल एसबिआई बैंकले १ अर्ब २० करोड ३२ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड २६ लाख नाफा गरेको छ।

यो बिचमा प्राइम बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, हिमालय बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकको नाफा घटेको छ।

वैशाख ७, २०८२ आइतबार १७:४५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।